धरान : धरानमा मंगलबार साथी साथी बिच छुरा हानहानमा घाईते भएका अनन्त राईको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

उनको वाया कोखामा गहिरो चोट लागेकोले राति सल्यक्रिया गरिएको बताईएको छ । सल्यक्रिया पछि उनलाई बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको डि आईसियुको ८ नम्वर बेडमा भेन्टिलेटरमा राखिएको छ । घाइते राईको अवस्था चिन्ताजनक रहेको प्रतिष्ठानले जनाएको छ ।

त्यसैगरी अर्का घाईते पेम्बा लामा भनिने पेम्बा पङसुवाको अवस्था भने सामान्य रहेको छ । उनको पनि देब्रे हातको विचको औला भाचिएकोले हातमा स्टील लगाईएको छ भने टाउकोमा ५ टाका लगाईएको उनका बुबा निमा पङ्सुवाले बताए ।

छुरा प्रहारमा को को संलग्न थिए ?
होलीको दिन बिषेश सुरक्षा सावधानी प्रहरीले अपनाएको कारण बाहिर चौक , सडकमा भने घटना घटेन ।

पव्लिक स्कुलको खेलमैदानमा भेला भएका केही युवाहरु बिचमा अनन्त राई माथि अरु ४ जना पनि खनिएका थिए । एलेक्स भनिने प्रकास तामाङले अनन्त राई माथि छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।

प्रकाससंगै अरु तीन जना पनि संलग्न भएकोले हिजो प्रकास संगै अरु तीन जनालाई पनि राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान २ बस्ने १८ बर्षिय बरदान चौधरी, धरान २ कै १८ बर्षिय लाप्साङ तामाङ र धरान १२ बस्ने १८ बर्षिय रोहन श्रेष्ठ रहेका छन् ।

प्रहरीका अनुसार गम्भिर घाईते भएका अनन्त राईले यस भन्दा पहिले एलेक्स भनिने प्रकास तामाङ माथि खुकुरी प्रहार गरेका थिए र त्यसैको बदला लिन हिजो मंगलबार छुरा प्रहार गरेको अनुसन्धानको क्रममा बताएका छन् ।

घाईते पक्षकाले किटानी जाहेरी दिने वित्तिकै हिजो राति पक्राउ परेका चारै जनालाई म्याद थप गर्न आज जिल्ला अदालत सुनसरी लाने इलाका प्रहरी कार्यालय धरानका प्रमुुख डिएसपी ढुण्डीराज न्यौपानेले कपुरीलाई बताए ।

मंगलबार होलीको विषेश सुरक्षा रणनिति प्रहरीले अपनाए पनि भित्र स्कुलको मैदानमा यो घटना घटन पुगेको डिएसपी न्यौपानेले बताए ।