धरान : धरान ८ भोटेपुल देखि बरगाछी सम्म बन्दै गरेको सडक र ड्रेनको अनुगमन गरिएको छ ।

धरान उपमहानगरपालिकाका मेयर तिलक राई, नेकपा धरान नगर अध्यक्ष नारायण सुवेदी, सडक डिभिजन कार्यालय विराटनगरका डिभिजन प्रमुख पशुपती ज्ञवाली, सव-इन्जिनियरहरु चन्दा घिमिरे, रन्जित शाहा, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख र स्थानियबासीहरुले बन्दै गरेको सडक र ड्रेनको अनुगमन गरेका हुन् ।

अनुगमनको क्रममा धरान उपमहानगरपालिकाका मेयर तिलक राईले धरानको प्रबेशद्धार देखि केही मास्तिर आउने वित्तिकै बरगाछी देखि भोटेपुल सम्मको सडकको अवस्था धुँवा धुलोमय भएकोले चाडै सक्न सडक डिभिजन कार्यालयका प्रमुख पशुपती ज्ञवलीलाई आग्रह गरे ।

सडकको दायावाय किनारामा पानी नजम्नेगरी ड्रेन निर्माण हुने भएकोले सडकको किनारामा खनिएको माटो र निर्माण सामाग्रीले सडक साँगुरो भएको र धुँवा धुलोमय भएकोले चाडै सडक निर्माण सक्न स्थानियवासीले सडक डिभिजन कार्यालयलाई अनुरोध गरे ।

धरानको बरगाछीको वर र पिपल सडक निर्माणको क्रममा काटनु पर्ने भएकोले स्थानिय बासिन्दाहरु संग समवन्य गरी निर्माण कार्यलाई तिब्र बनाईने सव इन्जिनियर चन्दा घिमिरेले बताईन् ।

Sadak-Anugaman

धरान ८ को गजुर होटल अगडीबाट बरगाछी सम्म करिव डेढ किलोमिटरको सडक निर्माणधिन अवस्थामा रहेकोले आउजाउ गर्न समस्या भएको छ ।

२ करोड ७९ लाखको लागतमा बन्दै गरेको सो सडक अस्फल्ड प्रविधिबाट पिच गरिने सव इन्जिनियर घिमिरेले बताईन् ।

अनुगमनको क्रममा नेकपा धरानका अध्यक्ष नारायण सुबेदीले गुणस्तरीय सडक र ड्रेन बन्न सकोस भनेर अनुगमन गरिएको बताए । डेढ किलोमिटरको सडकको चौडा ९ मिटरको बन्ने छ । शाहा निर्माण सेवाले निर्माण गरिरहेको सो सडक असार मसान्त सम्ममा सकिने सडक डिभिजन कार्यालय विराटनगरका डिभिजन प्रमुख पशुपती ज्ञवालीले बताए ।

उनका अनुसार धरान बजार भित्रको मुख्य सडक भोटेपुल देखि भानुचौक, छाताचौक देखि लक्ष्मी चौक सम्मका खाल्डाखुल्डीको पनि अस्फल्ड प्रविधिबाट मर्मत गरिने छ । सडकको चौडा भने साविकको ९ मिटरनै कायम हुने प्रमुख ज्ञवालीले बताए ।