धरान : धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने धनकुटे रोड मर्मत गर्न थालिएको छ ।

बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामी बोकेर एम्बुलेन्स हिड्ने बाटोमा खाल्डाखुल्डी भएर सवारी साधन आऊ जाऊ गर्नमै समस्या भएको भन्दै होली भन्दा अगाडी धरान ८ का प्रज्वल श्रेष्ठ, नारायण बास्तोला, निकेश कार्की, अनीश बस्नेतको समूहले खाल्डा खुल्टी पर्दै सडक मर्मत गर्दै गर्दा धरान उपमहानगरपालिकाले रोकेको थियो ।

सडकमा सिमेन्ट, बालुवा र गिट्टीले टालटुल गर्न थालेपछि धरान उपमहानगरपालिकाका मेयर तिलक राईले युवाहरूको कामको प्रशंसा गर्दे ठेक्का लागि सकेको सडक नगरपालिकाले बनाउने भन्दै रोकेका थिए ।
गएको आईतबार देखि धनकुटे रोडको मर्मत सम्भार सुरु भएको धरान उपमहानगरपालिकाका बरिष्ठ इन्जिनियर सुरज श्रेष्ठले जानकारी दिए ।

श्याम कन्स्ट्रक्सनले सडक मर्मतका लागि पुरानो ट्राफिक चौक देखि खाल्डाखुल्डीमा कटिङ गर्ने काम थालेको छ । एक दुई दिनमा कटिङ सकेर १० दिन भित्रमा सडक मर्मतको सम्पुर्ण काम सम्पन्न हुने श्याम कन्ट्रक्सनका गणेश गुरुङले बताए । धनकुटे रोड पुरानो ट्राफिक कार्यालय अगाडी देखि रेल्वे चौक सम्म मर्मत सम्भार धमाधम भईरहेको छ । धरान उपमहानगरपालिकाको रि-करेन्ट मेन्टिनेन्स अनुसार मर्मत सम्भार भईरहेको इन्जिनियर श्रेष्ठले बताए ।

सडकमा भएका खाल्डाखुल्डीहरुलाई प्याचिङ प्रविधिबाट टालिने र यो निकै मजबुद हुने बताईएको छ । टालिएको मर्मत गरिएको ठाउमा पुनः नभत्कने बरु अन्त भत्कन सक्ने बताईएको छ ।

इन्जिनियर श्रेष्ठका अनुसार धरान भरी सहरी सडक निर्माणका लागि भनेर १ करोड १० लाखमा जम्मा ७ वटा सडकको मर्मत गर्न ठेक्का लागि सकेको छ ।

धनकुटे रोड पुरानो ट्राफिक कार्यालय देखि रेल्वे चौक सम्म, धरान ९ को गौतम पथ, धरान १५ को एभरेस्ट लाइन, धरान(१६ को भगवती मार्ग, धरान १६ को चन्द्र संस्कृत मार्ग, धरान १३ को फुस्रे जाने बाटो अमर पथ र कृषि बजार भित्रको सडक मर्मत सम्भार हुने धरान उपमहानगरपालिकाले जनाएको छ ।