धरान : इटहरी उपमहानगरपालिकाको सिमा देखि धरानको तिनकुने सम्मको सडक किनारा कत्तिको सफा छ ? जंगलको सडक मानिसको आउजाउ सवारी साधन बाहेक पैदल हिडने मानिस कमै हुन्छन् । त्यसैले त्यस्तो धेरै फोहोर नहुनुपर्ने हो । तर धरानको तिनकुने देखि तरहरा नजिक पानीपिया सम्म सडक किनारामा सरसफाई गर्दा २ हजार किलो भन्दा बढी फोहोर संकलन भएको ख्रिष्टियन समाज धरानका अध्यक्ष समुयल राईले बताए ।

विश्वभरी कोरोनाको महामारी फैलिरहेको बेलामा धरान प्रबेश गर्ने मुख्य सडकको दायाँवायाँ किनारामा स्वच्छ धरान, स्वास्थ्य धरान, हाम्रो अभियान भन्ने मुख्य नाराका साथ सरसफाई अभियानको ख्रिष्टियन समाज धरानले आयोजना गरेको थियो । सरसफाई कार्यक्रममा धरानमा रहेका ३५ वटा भन्दा बढी संघ संस्थाहरुको सहभागिता रहेको थियो भने प्रहरीको पनि उपस्थिति रहेको थियो । आज बुधवार धरानको तिनकुने देखि तरहराको पानीपिया सम्मको सडकको दायाँवायाँ किनारामा सरसफाई गरिएको हो । सो सरसफाईको क्रममा सडक किनारामा सबै भन्दा बढी मिनिरल वाटरका बोटल, सिरिन्ज, रक्सीका बोटल र कुखुरा, खसीका रौहरु भेटिएका थिए ।

करिव ३ सय भन्दा बढीको सहभागिता रहेको सो अभियानमा धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुबेदी र नेकपाका नेता मुक्सामहाङ मेन्याङ्बो लगायतको उपस्थिति रहेको थियो ।

Sarsafai-1
विहान ७ बजे देखि सुरु भएको सो सरसफाई अभियान विहान साढे १० बजे सम्पन्न भएको थियो ।

यसरी सरसफाईका लागि विषेश भुमिका नेपाल ख्रिष्टियन समाजका केन्द्रिय सदस्य कुबेर गुरुङले खेलेका थिए भने सरसफाई कार्यक्रममा धरान उपमहानगरपालिकाबाट ३ सय मास्क र ७ सय थान ह्यण्ड ग्लोब्स उपलव्ध भएको ख्रिष्टियन समाज धरानका अध्यक्ष समुयल राईले बताए ।

उनका अनुसार धरान उपमहानगरपालिकाले दुई वटा फोहोर बोक्ने ट्रयाक्टर, पाष्टर महेन्द्रजंग राईले पनि एउटा ट्रयाक्टर, सिओन स्कुलले २ वटा बस उपलब्ध गराएर सहयोग गरेका थिए ।
सडकको दुई किनारामा संकलन गरिएको २ हजार भन्दा बढी फोहोर धरान उपमहानगरपालिकाको डम्पिङसाईडमा फोहोर व्यावस्थापन गरिएको छ ।