धरान : पुर्वी पहाडी जिल्ला पाँचथर र झापाको दुई छुट्टाछुट्टै स्थानमा हिजो बुधवार भएको सवारी दुर्घटनामा २ जनाको मृत्यू हुनुको साथै १३ जना घाईते भएका छन् ।

पाँचथरको फिदिम नगरपालिका ११ तृतीयमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । फिदिमबाट याङ्नाम जादै गरेको मे १ ज ३०३८ नम्बरको टाटासुमो अनियन्त्रीत भइ पल्टिदा सवारी धनी तथा गाडी चालक बलबहादुर राईको घटना स्थलमै मृत्यू भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका असई चन्द्र बस्नेतले बताए । बस्नेतका अनुसार सो सवारीमा सवार ७ जना सामान्य घाईते भएका थिए । चालक राई सवारी अनियन्त्रित भई पल्टदा हाम फालेर भाग्नेक्रममा सोही गाडीले किचेर मृत्यू भएको प्रहरीले बताएको छ । घाईतेहरुको सामान्य उपचार पछि घर फर्किसकेका छन् ।

यसैगरी हिजोनै पाँचथरकै मौवामा भएको अर्काे सवारी दुर्घटनामा ६ जना घाईते भएका छन् ।
मौवाबाट धरान आउने यात्रुवाहाक बस सडकबाट २ सय मिटर तल झर्दा बस भित्र रहेका यात्रु घाईते भएका हुन् । घाईते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको बताईएको छ । घाईते सबैको उपचार बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भईरहेको पाँचथर ट्राफिक प्रहरीले जनाएको छ ।

यसैगरी झापाको अर्जुनधाराको विरिङ खोलामा हिजो बुधवार भएको ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यू भएको छ ।

उत्तर बाट दक्षिण तर्फ जादै गरेको मे १ त ४९११ नं. को ट्याक्टर अनियन्त्रित भई पल्टदा चालक अर्जुनधारा ७ बस्ने बर्ष १७ को मोहन कुमार थापालाई सोही ट्याक्टरले किचि घटनास्थलमा नै मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।