धरान : नेकपा धरान उपमहानगरले मङ्गलवार धरान उपमहानगरपालिकालाई एक ध्यानाकर्षण पत्र बुझाउँदै मुलुकको विषम परिस्थितिमा राहत घोषणा गर्न माग गरेको छ ।

नेकपाका धरान उपमहानगर अध्यक्ष नारायण सुबेदी र सचिव सुदर्शन श्रेष्ठद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा कोरोना सङ्क्रमण रोकथामका लागि नेपाल सरकारका सबै तहबाट चालिएका प्रभावकारी कदम प्रति ऐक्यबद्धता जनाउँदै धरानवासीलाई परेको समस्यालाई राहत प्रदान गर्न बुँदागत रूपमा ध्यानाकर्षण पत्रमा उल्लेख गरी धरान उपमहानगरपालिकालाई ध्यानाकर्षण गरेको छ ।

नेकपाको ध्यानाकर्षणमा नेपाल सरकारले आह्वान गरेको लकडाउन थप प्रभावकारी बनाउनका लागि धरान प्रवेश गर्ने सबै नाकाहरूलाई पूर्ण रूपमा बन्द गर्ने व्यवस्था मिलाइनुपर्ने , धरान का भित्री भागहरूमा समेत प्रभावकारी कार्यान्वयनका लागि नागरिक आह्वान तथा सुरक्षा अनुगमन वृद्धि गरिनुपर्ने, धरान उपमहानगरका पहाडी वडा हरू वडा नं. ४, २०, तथा ५ र ६ नं वडाका पहाडी क्षेत्रमा बजार क्षेत्रबाट बाक्लो आवागमन र मनोरञ्जनका लागि समेत भिडभाड बढेको पाइएकोले ती क्षेत्रमा आवत जावत गर्ने नाकाहरूमा विशेष सुरक्षा टोली द्वारा आवत जावत रोक लगाइनुपर्ने, राहत सङ्कलन र वितरणमा कतिपय निर्वाचित वडाध्यक्ष लगायत विभिन्न व्यक्ति समूहबाट व्यक्तिगत वितरण गरेको भनी सामाजिक सञ्जालमा समाचार, तस्बिर र भिडियोहरु जोडतोडका साथ प्रचार प्रचार गरिएको छ ।

यो समय व्यक्तिगत प्रचारबाजीको समय हैन त्यसैले नेपाल सरकारले निर्माण गरेको संयन्त्र मार्फत संस्थागत रूपमा प्रभावकारी तथा दीर्घकालीन व्यवस्थापनका साथ एकद्धार प्रणालीबाट राहत सङ्कलन गरी सम्बन्धित वडा कार्यालय मार्फत मात्र वितरण गर्नै व्यवस्था मिलाइनुपर्ने छ ।

यसै गरी वडा समितिहरूले टोलको प्रतिनिधित्व हुने गरी सहयोग समूहहरू बनाई आपूर्ति व्यवस्था सहज बनाउने, स्वयंसेवी अभियानको संयोजन गर्ने र नेपाल सरकारको लकडान लाई मध्यनजर गरी सामाजिक दुरी कायम गरी व्यवस्थित ढङ्गले राहत वितरण गर्न पनि माग गरिएको छ ।

राहत वितरणका लागि कार्यविधि निर्माण गरी अति विपन्न परिवार, दैनिक ज्यालादारी मजदुरहरूको पहिचान गरी त्यस्ता परिवारलाई उच्च प्राथमिकतामा राखी तत्कालै राहत वितरणको व्यवस्था मिलाईयोस ,अत्यावश्यक खाद्यान्न, तरकारी, ग्याँस जस्ता वस्तुहरूको सहज वितरणका लागि सम्बन्धित क्षेत्रका थोक विक्रेता साथै उद्योग वाणिज्य सङ्घ, कृषि उपज बजार व्यवस्थापन समिति लगायत सरोकारवाल प्रतिनिधिहरू सँग समन्वय गरी सहज आपूर्तिको व्यवस्था मिलाइनुपर्ने, उपमहानगरपालिकामा कोरोना हेल्प डेस्क स्थापना गरी टोल फ्री नम्बरको समेत व्यवस्था तत्काल गरिनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

यसै गरी उपमहानगर पालिकाले प्रत्येक दिन बेलुकी दिन भरी गरेका व्यवस्थापकीय काम तथा नगरको स्वास्थ्य व्यवस्थाका बारे आधिकारिक सूचना सम्प्रेषणको व्यवस्था मिलाइनुपर्ने, लकडाउनको समयमा वन क्षेत्र प्रवेश गरी वन पैदावार चोरी गर्ने क्रम बढेकोले ती क्षेत्रमा सुरक्षा निकायबाट अनुगमन गरी कडा कारबाहीको व्यवस्था गरिनुपर्ने, धरान उपमहानगरपालिकाले स्थापना र घोषणा गरेको कोरोना विपद् व्यवस्थापन कोष लाई सार्वजनिक गरी सहयोगका लागि सार्वजनिक आह्वान गरिनुपर्ने साथै उक्त कोष संयोजन एवं परिचालनका लागि सर्वदलीय सर्वपक्षीय कोष परिचालन संयोजन समिति निर्माण गरिनुपर्ने,. विपद्का समयमा जनता तथा व्यवसायिहरुलाई लाई प्रत्यक्ष राहत पुग्ने प्रकारका कार्यक्रम घोषणा गरियोस् यस अन्तर्गत धरानवासीलाई प्रत्यक्ष राहत हुने गरी धरान उपमहानगरपालिकाले आ.ब.२०७६र७७ मा लिइने विभिन्न शीर्षकका करहरू जस्तै घरजग्गा तथा संम्पती कर, घरधुरी कर, बहाल कर, व्यवसाय कर, सवारी कर, वारुणयन्त्र सरसफाइ सेवा शुल्क, सडक बत्ती तथा पूर्वाधार शुल्कमा एक वर्षमा हुन आउने करको रकममा २ महिनाको विशेष छुट तथा मिनाहा गर्ने गराउन व्यवस्थाका साथै खानेपानीको २ महिनाको न्यूनतम शुल्क छुट गरिनुपर्ने माग गरिएको छ ।

वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान साथै निजी हस्पिटलहरूमा अनिवार्य बिरामीहरूको सहजरुपमा स्वास्थ्य परीक्षण साथै उपचार प्रबन्ध मिलाउने व्यवस्था गरिनुपर्ने, नेपाल सरकारको निर्णयअनुसार भएको लकडाउनले धरानको उद्योग व्यापार व्यवसाय लगायत विभिन्न क्षेत्रमा पर्न गएको असहज परीस्थितलाई ख्याल गर्दै धरानवासीलाई सहज आपूर्ति व्यवस्था मिलाउँदै लकडाउनलाई थप प्रभावकारी बनाउन धरान उपमहानगरले घरघरमा आवश्यक दैनिक उपभोग्य सामाग्रीहरू पुर्‍याउने व्यवस्थाका लागी उद्योग वाणिज्य सङ्घ, कृषि उपज बजार र सरोकारवालाहरुसंग छलफल गरी सुझावका आधारमा कार्यान्वयन गर्ने व्यवस्था मिलाइनुपर्ने पनि माग गरिएको छ ।

यस्तै नेपाल सरकारले यस विपत्तिको घडीमा बैङ्क तथा वित्तीय संस्थाले लिइँदै आएको ब्याजदरमा विशेष छुट गरी बैक किस्ता पनि तिन महिना पछि लिने गरी व्यवस्था मिलाउन विशेष ध्यानाकर्षण गरिएको छ ।
यस्तै रुग्ण व्यवसाय क्षेत्रको रूपमा घोषणा गर्दै यस धरानको होटेल तथा पर्यटन उद्योगहरूलाई विशेष राहत प्याकेज सहितका कार्यक्रमहरूको व्यवस्था गरिनुपर्ने, यस सङ्कटको समयमा चिकित्सक, नर्स, स्वास्थ्य कर्मी, कर्मचारी, सुरक्षा कर्मी, सरसफाइ मजदुर, पत्रकारलाई विशेष ख्याल गरी कोरोना भाइरससँग बच्ने सुरक्षा सँग सम्बन्धित सम्पूर्ण बन्दोबस्तका सामाग्रीहरू उपलब्ध गराउन र स्वास्थ्यकर्मी र सुरक्षाकमीहरुका हकमा विशेष सेवा सुविधा वृद्धि गर्दै जीवन रक्षाका निम्ति नेपाल सरकारले याथाशिघ्र आवश्यक व्यवस्था मिलाउन र उपमहानगरले समेत आवश्यक पहल गर्नुपर्ने र कोभिड १९को नियन्त्रणका लागी अहोरात्र खटिई रहने सम्पूर्ण सुरक्षाकर्मीहरु डाक्टर, नर्स लगायत सम्पूर्ण स्वास्थ्यकर्मीहरु जनप्रतिनिधि तथा कर्मचारीहरू पत्रकार नागरिक समाज, उद्योगी व्यवसायी लगायत सरसफाइ मजदुरहरू र आम नगरवासीहरू प्रति हार्दिक आभार तथा धन्यवाद पनि व्यक्त गरिएको छ ।