धरान : धरानमा लकडाउन धेरै उल्लङ्घन भएको भनिरहँदा बुधवार बसेको सुरक्षा संयन्त्रको बैठकले बिहीबार देखि लकडाउनलाई धरानमा कडा बनाइने निर्णय भएको छ ।

धरान उपमहानगरपालिकामा भएको बैठकले लकडाउनलाई कडा बनाउने निर्णय भएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डिराज न्यौपानेले कपुरीलाई जानकारी दिए ।

लकडाउनको बेलामा विभिन्न सङ्घ संस्था र व्यक्तिले आफूखुसी जाहीतही राहत वितरण गरिरहेको भन्दै एक द्वार प्रणाली मार्फत राहत वितरण गर्नका लागि धरान उपमहानगरपालिकाले स्थापना गरेको फुड बैकमा जम्मा गरेर मात्रै राहत वितरण गर्न पाइने पनि निर्णय भएको छ । यदि आफूखुसी कोही कसैलाई राहत वितरण गरिएको पाइएमा प्रहरीले रोक्ने पनि डिएसपी न्यौपानेले बताए ।

धरानका विभिन्न वडाका वडाध्यक्षहरूलाई पनि आफू खुसी राहत वितरण नगर्न आग्रह बैठकले गरेको छ । धरान उपमहानगरपालिकाले स्थापना गरेको फुड बैकमा राहत सङ्कलन गरेर एक द्वार प्रणालीबाट मात्रै राहत वितरण गर्नका लागि यस्तो निर्णय गरिएको हो ।

धरानमा विभिन्न राजनीतिक दलका ८० जना युवाहरूलाई लकडाउनमा परिचालन गरिने भनिएकोमा कार्यविधि बनाएर अझ छलफल गरेर के गर्ने ? भन्ने बारेमा अनि मात्रै निर्णय गर्ने धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बताए ।

बिहीबार धरानका मुख्य बजार र चौकमा मात्रै होइन धरान उपमहानगर भित्रका दुर्गम र भित्री सडक र गल्लीहरूमा पनि सुरक्षा निगरानी बढाइनेछ । लकडाउन उल्लङ्घन गर्नेलाई प्रहरी नियन्त्रणमा लिइने पनि डिएसपी न्यौपानेले बताए ।

बिहीबार बिहानै देखि लकडाउनलाई कडाइ पार्ने र साँझ ६ बजे पछि लकडाउनको बेलामा अलि खुकुलो बनाई सर्वसाधारणलाई तरकारी किन्न सहज बनाइने पनि डिएसपी न्यौपानेले बताएका छन् । धरानमा लकडाउन व्यापक उल्लङ्घन भइरहेको भनिएको बेला धरानमा यस्तो निर्णय भएको हो ।