धरान : सुनसरी उद्योग बाणिज्य संघले धरानमा मौज्दात खाद्यन्नको तथ्याङ्क निकाल्ने भएको छ ।

कोरोनाको कहरबाट बच्न गरिएको लकडाउनको कारण खाद्यान्नको मौज्दातका सम्बन्धमा यथार्थ तथ्यांक निकालिने भएको हो । सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरिधारी सापकोटाको अध्यक्षतामा सम्पन्न बैठकबाट वाणिज्य सचिव सिताराम आचार्यको संयोजकत्वमा खाद्यान्न तथ्यांक संकलन उपसमिति गठन भएको छ ।

समितिले धरानका खुद्रा पसल र होलसेल पसलमा हाल दाल, चामल, तेल, नून लगायतका सामाग्रीहरु कति मौज्दात रहेका छ र सो सामाग्रीले कति दिनसम्म उपभोक्तालाई पुग्छ भनि यथार्थ तथ्यांक निकाल्ने भएको छ । हाल भईरहेको लकडाउनबाट धरानमा खाद्यान्नको अभाव हुन नदिन आवश्यक सामाग्रीहरु उपलब्ध गराउनका लागि सुनसरी उद्योग वाणिज्य संघले पहल गर्न लागेको हो ।

त्यसैगरि धरानमा भइरहेको रगतको अभावलाई परिपुर्ति गर्न उद्योग वाणिज्य संघले सम्पूर्ण रक्तदाताहरुलाई रक्तदान गर्न आव्हान गरेको छ । संघले कार्यसमिति सदस्य प्रभाव खतिवडाको संयोजकत्वमा रक्त संकलन उपसमिति समेत गठन गरेको छ ।

समितिले इच्छुक रक्तदाताहरुलाई वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित ब्लड बैंकमा रक्तदान गर्नका लागि सहजतापूर्वक ल्याउने र लैजाने व्यवस्था गर्नेछ । त्यसैगरि ३ वा सोभन्दा बढि रक्तदाता भएमा वहा“हरुलाई पायक पर्ने स्थानमा रक्तदान गर्न सकिने व्यवस्था समेत मिलाउने भएको छ ।

संघका सदस्य विष्णु बरालका अनुसार लकडाउनको कारणबाट खाद्यान्नको अभाव भएका व्यक्तिका लागि धरान उपमहानगरपालिकाले स्थापना गरेको फुड बैंकमा हालसम्म सुनसरी उद्योग बाणिज्य संघले ७ सय ५० लिटर खाने तेल, १ हजार २ सय ५० किलो नून र २ हजार ६ सय थान साबुन उपलब्ध गराईसकेको र आवश्यकता अनुसार पुनः चामल उपलब्ध गराउने भएको छ ।