धरान : धरान प्रहरीले लकडाउनको उल्लङ्घन गरी मर्निङवाक गर्नेहरूलाई आज नियन्त्रणमा लिएको छ ।

बिहान झिसमिसे देखिनै नै मर्निङवाक गर्ने १ सय ६३ जनालाई प्रहरीले नियन्त्रणमा लिई धरान १२ स्थित पब्लिक हाई स्कुलको खेलमैदानमा पुर्‍याएर २ घण्टा पछि लकडाउन उल्लङ्घन नगर्ने सर्तमा छाडिएको छ ।

Untitled-3 12

धरानमा लकडाउन व्यापक उल्लङ्घन भइरहेको भन्दै प्रहरीले हिजो शुक्रवार देखि कडाइ गरेको हो । शुक्रवार साँझ मात्रै १ सय बढीलाई नियन्त्रणमा लिएर छाडेको थियो ।

धरानका विभिन्न ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएर पब्लिक हाई स्कुलको खेलमैदानमा प्रहरीले ल्याई पुर्‍याएका सर्वसाधरणहरुलाई दुई घण्टा खेलमैदानमा राखेर कोरोना भाइरस सम्बन्धी जानकारी दिएर छाड्ने गरेको छ । यो अभियान लकडाउन भरी जारी रहने इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

नियन्त्रणमा लिइएकाहरूलाई इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले कोरोना भाइरसको जोखिम र यसबारेमा जानकारी दिने गरेका छन् ।
लकडाउन उल्लङ्घन गर्ने सर्वसाधारणलाई घर जान दिइए पनि प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन भने लकडाउन पछि मात्रै फिर्ता दिने इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डिराज न्यौपानेले बताए ।
कोरोना भाइरसको जोखिमका कारण नेपाल सरकारले गएको चैत्र ११ गते देखि लकडाउन घोषणा गरेको हो ।

लकडाउनमा सार्वजनिक स्थल, र भिडभाडमा हिडन पाइँदैन । लकडाउनको बेलामा सवारी साधन पनि चलाउन पाइँदैन । अत्यावश्यक काम पर्दा प्रहरीलाई खबर गरेर मात्रै बाहिर निस्कनुपर्नेमा धरानका विभिन्न स्थानमा बिहान मर्निङवाक र साँझ इभिनिङवाक सँगै बजार क्षेत्र र धरान आसपासका क्षेत्रमा व्यापक लकडाउन उल्लङ्घन भएपछि धरान प्रहरीले लकडाउनलाई कडा पार्न थालेको प्रहरीले बताएको छ ।

अब लकडाउन उल्लङ्घन गरे हरेक दिन पब्लिक स्कुलको खेलमैदानमा सर्वसाधारणलाई नियन्त्रणमा लिनेछ । आज शनिवार देखि लकडाउन उल्लङ्घन भएका क्षेत्रहरूमा व्यापक प्रहरी परिचालन गर्ने लकडाउन उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिने प्रहरीले बताएको छ ।