धरान : धरान उपमहानगरपालिकामा लकडाउन व्यावहारिक रूपमा कार्यान्वयन नभएको बताइरहँदा शुक्रवार देखि धरानमा लकडाउन कडा पारिएको छ ।

साँझ र बिहान मर्निङवाक, इभिनिङवाक सँगै बजार क्षेत्रमा अत्यधिक मानिसहरू घर बाहिर निस्किएको पाइएपछि शुक्रवार देखि धरान प्रहरीले विशेष अभियान सुरु गरेको छ । जस अनुसार लकडाउन उल्लङ्घन गर्नेहरूलाई धरानभरिबाट नियन्त्रणमा लिई धरान १२ स्थित पब्लिक हाई स्कुलको खेलमैदानमा पुर्‍याएर २ घण्टा नियन्त्रणमा राख्न थालेको छ । प्रहरीले नियन्त्रण गरेकाहरूलाई प्रहरीले कोरोना सम्बन्धी जनचेतनामूलक कार्यक्रममा दुई घण्टा सहभागी दिएर छाडेन गरेको छ ।

धरानमा लकडाउन व्यापक उल्लङ्घन भइरहेको भन्दै विभिन्न सञ्चार माध्यमहरूमा चर्चा गरिए पछि स्थानीय सरकार धरान उपमहानगरपालिकाले पनि लकडाउनलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन सशस्त्र प्रहरी र जनपथ प्रहरीलाई एक- एक वटा गाडी समेत दिएको छ । लकडाउनको पहिलो दिन देखिनै स्थानीय सरकार धरान उपमहानगरपालिकाले लकडाउनलाई कडा पार्न भनेको थियो ।

प्रहरी प्रशासनले लकडाउन उल्लङ्घन गर्नेलाई कारबाही गर्दा प्रहरीलाई विभागीय कारबाही हुने भएकोले धरान उपमहानगरपालिकाले सुरक्षाकर्मीहरुको मनोबल उच्च राख्न तीन तहकै सरकार, प्रहरीको उच्च अधिकारीहरूलाई समेत विभागीय कारबाही नगर्न अनुरोध गरेको धरान उपमहानगरपालिकाका मेयर तिलक राईले जानकारी दिए ।

धरानमा अरू ठाउँको तुलनामा लकडाउनमा कडाइ हुनुपर्छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना सङ्क्रमितलाई उपचार गर्न ल्याइयो भने झन् जोखिम हुन्छ भनेर आफूले लकडाउनको सुरुवात देखिनै  कडाइ गर्न प्रहरी प्रशासनलाई भनेको मेयर राईले बताए । प्रहरीले प्रहरी जस्तै भएर कडाइ गर्नुपर्‍यो, नगर प्रहरी जस्तो होइन भन्दै मेयर राईले भने “धरानवासी सबैले लकडाउन उल्लङ्घन नगरौँ कोरोनाको जोखिमबाट बचौँ ।’’

इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डिराज न्यौपानेले पनि धरानको लकडाउनलाई कडा पार्न प्रहरीको विभागीय नीतिको मनन गर्दे अघि बढ्ने बताए ।

प्रहरीले फिजिकल्ली कारबाही नगर्ने तर नियन्त्रणमा लिएर जनचेतनामूलक कार्यक्रममा दुई घण्टा सहभागी गराएर छाडेन धरान प्रहरीले नीति बनाएको डिएसपी न्यौपानेले बताए ।