धरान : धरानको सर्दु जलाधार क्षेत्रमा लकडाउनको बेलामा बन फडानी गर्नेलाई सशस्त्र प्रहरीले शनिवार कारबाही गरेको छ ।

सहरमा लकडाउन भएको बेला सहरबाटै सर्दु खोला हुँदै सयौँको सङ्ख्यामा सर्दुजलाधर क्षेत्रको जङ्गलमा गई घाँस दाउरा व्यापक ल्याउन थालिएको र जङ्गलमा भिड बढ्न थालेको १३ नम्बर वडा कार्यालयलाई जानकारी आएको थियो । सोही अनुसार आज शनिवार सशस्त्र प्रहरी बल सुरक्षा पोस्ट धरान १३ बाट खटिएका सशस्त्र प्रहरीले विभिन्न घरेलु हातहतियार सहित २५ जनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल सुरक्षा पोष्टका कमान्डर डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

Untitled-2 15

लकडाउनको बेलामा जङ्गलमा दाउरा कटान प्रयोग गरिएका बन्चरो ५ थान, खुकुरी ५ थान, दाउ ४ थान, खुर्पा ३ थान गरी अरू घरेलु हात हतियार सहित जम्मा १७ थान घरेलु हतियार बरामद गरिएको  डिएसपी श्रेष्ठले जानकारी दिए । उनका अनुसार ३० भारी दाउरा पनि नियन्त्रणमा लिइएको थियो । केही भारी घाँस पनि नियन्त्रणमा लिइएकोमा घाँस चाही लान दिइएको छ ।

Untitled-4 15

धरान १३, ४ र २० को सीमा क्षेत्र सर्दु खोलाको विपी पार्क देखि केही माथि निकै ठुलो सङ्ख्यामा बन फडानी गरिरहेका सर्वसाधारण भेटिएका थिए । उनीहरूले प्रहरी देख्ने बित्तिकै भागेकाले खेदेर नियन्त्रण गर्नुपरेको थियो । नियन्त्रणमा लिइएकालाई सर्दु खोला बगरमा अढाई घण्टा राखेर उठबस गराई छाडिएको सशस्त्र प्रहरी बल सुरक्षा पोस्ट धरान १३ ले जनाएको छ । बरामद गरिएका घरेलु हतियार र दाउरा सम्बन्धित निकायलाई बुझाइएको छ ।