धरान : देशमा व्याप्त लकडाउनका कारण वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बिरामीहरुलाई रगतको चरम अभाव भइरहेको छ ।

केही दिन अघि सुनसरी उद्योग वाणिज्य संघले स्वेच्छाले रगत दान गर्नका लागि समेत आव्हान गर्दै समिति पनि तयार गरेको थियो । केही व्यवसायीले स्वेच्छाले व्लड बैंकमै गएर रक्तदान समेत गरेको व्लड बैंकका इन्चार्ज सुभाषचन्द्र सिंहले बताएका छन् ।

तर पनि प्रतिष्ठानमा विशेष गरि डायलाइसिस, प्रसुतिका बिरामी र शल्यक्रियाका लागि रगतको अभाव अझै रहेकोले सुनसरी उद्योग वाणिज्य संघले आगमी वैशाख ४ गते बृहत् रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । उद्योगी, व्यवसायी, वस्तुगत संघ, विद्यार्थी, नागरिक, सेना, प्रहरी, प्रशासन सम्पूर्णको सहयोगमा रक्तदान कार्यक्रम गरिने संयोजक प्रभाव खतिवडाले बताए ।

रगतको अभावले छटपटाइरहेका बिरामीहरुको जीवन बचाउनका लागि सो दिन बिहान ८ः०० बजेदेखि धरान–१ स्थित सचिवालयमै आइ रक्तदान गर्नका लागि संघले सम्पूर्ण धरानवासीहरुलाई आव्हान गरेको छ ।