धरान : आजबाट विक्रम संवत् २०७७ सालको नयाँ वर्ष सुरु भएको छ ।
वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ ।

मुलुकको विषम् परिस्थतिमा आज नयाँ बर्ष मनाईदैछ । विगतमा होटल, रेष्टुरेन्ट, पार्क लगायतका स्थानमा भेला भएर नयाँ वर्ष मनाउने गरिए पनि यस वर्ष कोरोना भाइरस महामारीको जोखिमका कारण नेपालीहरुले घरमै बसेर नयाँ वर्ष मनाउनुपर्ने भएको छ ।

धरान प्रहरीले पनि धरानमा लडकडाउन उल्लंघन हुने गरी बाहिर घुमफिर नगर्न र घर भित्रै बसेर परिवारसंग दुरी कायम गरेर नयाँ बर्ष मनाउन अनुरोध गरेको छ ।
कोरोना संक्रमणको जोखिमका कारण विगत वर्षमा जस्तो घुमफिर एवं मेला महोत्सवमा सहभागी हुन सरकारले प्रतिबन्ध लगाएको बेला धरान प्रहरीले पनि यस्तो अनुरोध गरेको हो ।

नयाँ बर्षमा मठ मन्दिरहरुमा गएर पुजा पाठ गर्ने नेपालीहरुको चलन रहेकोले घरमै पुजापाठ गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।

धरानको सुरक्षा अवस्था कडा : 
लकडाउनको बेलामा आज विक्रम सम्वत २०७७ सालको नयाँ बर्ष परेकोले लकडाउन उल्लंघन हुन्छ भन्नेमा सर्तकता अपनाउदै धरान प्रहरीले धरानको सुरक्षामा कडाई गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार आज धरान आसपासका नाका र बढी मानिस जमघट हुने सम्भावित क्षेत्रहरुमा प्रहरी विहानै देखि परिचालन गरी सकिएको छ ।

धरानको मुख्य प्रबेशद्वार, बगरकोटको सेउती पुल, पानमारा जाने सेउती पुल, बन्तटार जाने काठे पुल, विजयपुर क्षेत्र, चिण्डेडाडा, बीपी पार्क , चतरा जाने सर्दु खोलाको पुल लगायतमा प्रहरी परिचालन गरिएको डिएसपी न्यौपानेले बताएका छन् ।

लकडाउन उल्लंघन गरेर नयाँ बर्ष मनाउन भन्दै घर बाहिर निस्किनेहरुलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालयको हाता भित्र रहेको कर्वड हलमा लगेर दिनभरी राखिने र साँझ ७ बजे पछि छाडिने बताईएको छ । सवारी साधनको हकमा जहा नियन्त्रणमा लिईएको हो त्यहाबाट चाबी नियन्त्रणमा लिने र लकडाउन पछि मात्रै सवारीको चाबी फिर्ता दिईने भएको छ । सवारी धनीले सवारी आफैले व्यावस्थापन गर्नुपर्ने प्रहरीले जनाएको छ ।