धरान : तस्बिरमा झट्ट हेर्दा उनी चिकित्सकै देखिन्छन् । तर उनी चिकित्सक नभई जनप्रतिनिधि हुन् ।

धरान उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्ले धरान उपमहानगरपालिकाले तयार गरेको पिपिई लगाएर एक जना एम्बुलेन्स चालकको सहयोगमा कोरोना आशङ्का गरिएका व्यक्तिको खोजीमा सोमबार बिहान निस्किएका थिए । त्यही बेलाको त्यो तस्बिर हो ।

भारतबाट नेपाल आएका तरकारी व्यापारी बिरामी छन् भन्ने खबर पाएका उनले धरान १५ स्थित पिण्डेश्वरी चौक, र भानु मार्ग पुगे । सेतो पिपिई लगाएका वडाध्यक्ष नत्रप्रसाद काफ्लेको पनि यो नौलो र पहिलो अनुभव थियो ।

एम्बुलेन्स चालकसँग भारतबाट आएका तरकारी व्यापारीको खोजी गर्ने क्रममा बढ्दो गर्मीसँगै हावा नछिर्ने पहिरनले सकस दिइरहेको थियो । धरान १५ स्थित भाइको कोठामा नभेटिएपछि खोज्दै जाने क्रममा आशङ्का गरिएका तरकारी व्यापारीलाई धरान १ स्थित सालाको कोठामा फेला परे । दुई घण्टाको दौडधुप पछि फेला पारिएका भारतीय तरकारी व्यापारीलाई एम्बुलेन्समा हालेर विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याए पछि भने आफूलाई बल्ल ढुक्क भएको वडाध्यक्ष काफ्लेले बताए ।

उनले भने “ भारतबाट ३ दिन अघि मात्रै धरान आएका उनीबाट यदि कोरोना सङ्क्रमण भएको छ भने सिङ्गै धरान जोखिममा पर्ने भएकोले जोखिम मोलेरै उनको खोजीमा निस्किए । ’’ यदि यसरी खोजी नगर्दा संयोग बस उनलाई सङ्क्रमण भएको भए धरानको अवस्था के होला ? भन्दै वडाध्यक्ष काफ्लेले भने “उनलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याउन सफल भए । यसैमा ढुक्क छु ।’’ भारतको राघोपुरको देवपट्टि गाउँका बासिन्दा उनी भारतमै बस्दै आएका थिए । भारतमा कोरोना सङ्क्रमण तीव्र हुन थालेपछि उनी भागेर तरकारीको गाडीमा लुकीछिपी धरान आइपुगेको बताइएको छ । तर उनले आफू लकडाउनको बेलामा गाडीमा नआई हिँडेर आएको बताएका छन् ।

उनलाई अहिले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसोलेसन वार्डमा भर्ना गरिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका वरिष्ठ कविराज रामबाबु यादवले जानकारी दिएका छन् । यादवका अनुसार उनको थ्रोट स्वाब लिई सकिएको र रिपोर्ट आउन बाँकी रहेको छ ।