धरान : भारतीय तरकारी व्यापारीको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

हिजो सोमबार तरकारीको गाडीमा भारतबाट भागेर धरान आईपुगेका तरकारी व्यापारीको हिजोनै थ्रोट स्वाब लिईएको थियो । आज उनको रिपोर्ट कोरोना नभएको आएको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सहप्रवक्ता डा. अशोक ऐरले बताएका छन् ।

यसैगरी उपमहानगरपालिकाले आज धरान १७ मा एक विदेशी नागरिक सहित विदेशबाट आएका २१ जनामा कोरोनाको र्‍यापिड टेष्ट गरेको छ ।

एक विदेशी सहित विभिन्न देशबाट आएका स्थानियबासीहरुको कोरोना आशंकामा र्‍यापिड टेष्ट गरिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् ।

धरानका विभिन्न वडाहरुमा जनप्रतिनिधिहरुले तथ्याङ्क संकलन गरेका १ सय २५ जनाको र्‍यापिड टेष्ट गरिने क्रममा आज धरान १७ मा गरिएको हो । र्‍यापिड टेष्ट गरिएका २५ जनाकै टेष्ट गर्दा उनीहरुको रिपोर्ट कोरोना नभएको आएको छ ।

भोली धरान १६ र ११ मा विदेशबाट आउनेहरुको र्‍यापिड टेष्ट गरिने प्रमुख मेहेताले जानकारी दिएका छन् । र्‍यापिड टेस्ट गर्दा आशंका गरिएका व्यत्तिको १५ मिनेटमै रिपोर्ट आउने स्वास्थ्य महाशाखाका बरिष्ठ कविराज रामबाबु यादबले जानकारी दिए ।