धरान : धरान उपमहानगरपालिकाले लकडाउन अवधिभर गरेको कामको प्रतिवेदन प्रदेश सरकारलाई भोलि बुधवार बुझाउने भएको छ ।

धरानमा लकडाउनको बेलामा धरान उपमहानगरपालिकाले गरेका कामको विवरण उल्लेख गरिएको प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाउने तयारि गरेको हो ।

भोलि उपमहानगरपालिकाका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुबेदी र उपमहानगरका प्रमुख प्रशासकीय अधिकृतको टोली विराटनगर जाने तयारी भइरहेको मेयर तिलक राईले जानकारी दिएका छन् ।

यसै गरी धरानमा कोरोना सङ्क्रमणको उच्च जोखिम रहेको भन्दै कृषि उपज बजार बन्द गरेसँगै धरान प्रवेश गर्ने नाकाहरूमा सवारी साधन आवत जावतमा कडाइ पारिने भएको छ ।

कृषि उपज बजार स्थलमा भारतबाट तरकारी आयात सँगै भारतीयहरूको आवतजावत बढेकोले मङ्गलवार कृषि उपज बजार स्थल बन्द गरिएको हो ।

यो सँगै धरान बाहिरबाट आउने तरकारीजन्य बस्तुहरू भारतीय सीमा क्षेत्रबाट आउने भएकाले कुनै पनि तरकारीजन्य बस्तु बोकेको सवारीसाधन प्रवेश गर्न नदिइने इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डिराज न्यौपानेले बताए ।

उनका अनुसार अत्यावश्यक सवारी पास लिएका,अस्पताल हिँडेका र बिरामी बोकेका सवारी साधन बाहेक अरूलाई रोक लगाइने छ । त्यसै गरी धरानको कुनै पनि स्थानमा तरकारी पसलहरू खोल्न नपाइने पनि डिएसपी न्यौपानेले बताए ।

धरानमा अझ लकडाउनलाई कडा पार्ने बारेमा धरान उपमहानगरपालिकाले भोलि मुख्यमन्त्रीसँग कुरा गरेर थप निर्णय गर्ने पनि मेयर तिलक राईले जानकारी दिएका छन् ।