धरान : दिल्लीबाट फर्किएका दुई जनाको र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ देखिए पछि सप्तरीका दुई स्थानीय तहका दुई वडा सिल गरिएको छ ।

आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले खडक नगरपालिकाको वडा नम्बर ११ को जाजर गाउँ र तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्बर १ लाई सिल गर्ने निर्णय भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी कृष्ण प्रसाईले जानकारी दिए । अब त्यहाँ मानिस घर बाहिर निस्कन र जान दुवै पाउने छैनन् ।
एसपी प्रसाईँका अनुसार दिल्लीबाट फर्किएर आफ्नो घरमा बसिरहेका ७ जनालाई प्रहरीले हिजो मङ्गलवार राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याएर र्‍यापिड टेष्ट गराएको थियो । उनीहरूमध्ये दुई जनाको पोजेटिभ र ५ जनाको नेगेटिभ रिपोर्ट आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।

पोजेटिभ र नेगेटिभ रिपोर्ट आएका सबैलाई स्वाब सङ्कलन गरी पीसीआर विधिबाट परीक्षण गर्न वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान आइपुगेको छ । उनीहरूको स्वाबको नमुना परीक्षणको रिपोर्ट आज साँझ सम्ममा आउने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सह प्रवक्ता डा. अशोक ऐरले बताएका छन् ।

र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ देखिने बित्तिकै हिजो साँझ देखिनै तिलाठी कोईलाडी गाउँपालिकाको १ र खडक नगरपालिकाको वडानं. ११ को जाजर गाउँ सिल गरिएको थियो । आज सुरक्षा समितिको बैठक बसी सिल गर्ने औपचारिक निर्णय गरी सिल गरेको एसपी प्रसाईले कपुरी न्युजलाई बताए ।