धरान : लकडाउनमा तपाई बाहिर निस्किँदै हुनुहुन्छ ? हिँडेर या सवारी साधन दुवै माध्यमबाट तपाई घर बाहिर निस्किँदै हुनुहुन्छ भने तपाईँलाई अव ट्राफिक प्रहरीले बोलाउँदैनन् । हातमा चेतनामूलक सन्देश लेखिएको प्लेकार्ड बोकेर बिच सडकमा उभिएर ट्राफिक प्रहरीले तपाईँलाई हीनताबोध हुने गरी कोरोना घातक रोग हो, नसम्झिनु कसैले यो जोक हो..... बाँच, बचाउ र बाँच्न देऊ, बहाना बनाएर सडकमा नआऊ..... जस्ता सन्देशमूलक नारा लेखिएको प्लेकार्ड देखाउँछन् ।

लकडाउनमा घर बाहिर ननिस्किन भनेर सरकारले घरैमा बस्न आग्रह गर्दै लकडाउन घोषणा गरेको हो । विश्वभर महामारीकोरुपमा फैलिरहेको कोरोना भाइरसबाट जोगाउन र जोगिन नेपाल सरकारले यस्तो घोषणा गरेको हो । तर पनि सर्वसाधारण भने घरबाट लकडाउन उल्लंघन गर्दै निस्किन थालेपछि कत्तिलाई प्रहरीले कारबाही गरिरहेको छ । तर पनि लकडाउन उल्लङ्घन गर्नेहरूको सङ्ख्या घटेको छैन ।

प्रहरीले आफ्नै तरिकाले लकडाउन उल्लङ्घन गर्नेलाई कारबाही गर्दैछ भने ट्राफिक प्रहरीले पनि कसैसँग नबोली प्लेकार्ड देखाएर लकडाउन उल्लङ्घन गर्नेलाई हीनताबोध गराउन थालेको छ ।

यो अभियान प्रदेश नं. १ का १४ जिल्लामा सुरु गरिएको प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख एसपी भीम दाहालले बताए । उनका अनुसार लकडाउन उल्लङ्घन गर्नेहरू अबुझ र पढ लेख नगरेका भन्दा पढ लेख गरेका बुझकहरुनै बढी भएको कारण बोलेर विवाद गर्नु भन्दा मौन बसेर प्लेकार्ड देखाउन थालिएको हो ।

यसो गर्दा बुझ्ने मान्छेलाई इसारा काफी छ भनेझै आफैले बुझेर भोलि देखि लकडाउन उल्लङ्घन गर्नेछैनन् भन्ने विश्वास हो । यदि उसले हीनताबोध नगरी भरै, भोलि फेरी लकडाउन उल्लङ्घन गरे कारबाहीको भागीदार अवश्य बन्नुपर्छ भन्दै एसपी भीम दाहालले भने “ट्राफिक प्रहरीको यो अभियानले कोरोना भाइरस सम्बन्धी पक्कै पनि राम्रै जानकारी दिएको छ ।”

Traffic-Abhiyan

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अन्जन कोइराला पनि यो अभियानले ट्राफिक प्रहरी पनि सुरक्षित हुने र वादविवाद नहुँदा कोरोना सङ्क्रमणको जोखिम कसैलाई पनि नहुने बताउँछन् । यो अभियानलाई सुनसरी जिल्लाभर लागु गरेको उनले बताए ।