धरान : कोरोना भाइरसको जोखिम दिनानुदिन बढ्दै गइरहेको बेला सुनसरी सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सुनसरी जिल्लाको ६२ किलो मिटरको सीमा क्षेत्रमा ५० स्थानमा सशस्त्र प्रहरीले र १५ स्थानमा नेपाल प्रहरीले सीमा क्षेत्रको निगरानी गरिरहेकोमा थप ४ वटा पोस्ट थप गरी ६९ पोस्ट पुर्‍याएको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कृष्ण ढकालले जानकारी दिएका छन् ।

पोस्ट थपिए सँगै आज देखि थप ७० जना सशस्त्र प्रहरी थप गरी अहिले सुनसरीको सीमा क्षेत्रमा मात्रै ५ सयको हाराहारीमा सशस्त्र प्रहरी खटाइएको एसपी ढकालले बताए ।

लकडाउनसँगै भारत र नेपाल दुवै तर्फबाट सीमा सिल गरिएको र कुनै पनि सवारी साधन आउजाउ गर्न नदिएको बताइएको छ । सशस्त्र प्रहरी र जनपथ प्रहरी दुवै प्रहरी परिचालन गरिएकोले सीमा क्षेत्रको सुरक्षा अवस्था कडा भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताएका छन् ।

यो सँगै स्थानीयवासी पनि सीमा क्षेत्रमा आफै जागरूक हुन थाले पछि अहिले सुनसरीको सीमा क्षेत्रको सुरक्षा अवस्था अत्यन्तै कडा भएको दाबी गरिएको छ ।