धरान : धरान १७ का बासिन्दा आफ्नो गाउँ टोलमा अपरिचित मानिसको लकडाउनको बेला हिँडडुल बढे पछि आफै जागरूक हुन थालेका छन् ।

उदयपुरमा १२ जना कोरोना सङ्क्रमित फेला परेपछि धरान चतरा सडक खण्डमा कोरोनाको जोखिम बढेको भन्दै शुक्रवार साँझ देखि सिल भएसँगै गाउँ टोलमा अपरिचित मानिसको चहलपहल बढेको बताइएको छ ।
कोरोना सङ्क्रमणको जोखिम बढेकोले धरान उपमहानगरपालिका वडानं. १७ डाँडा घोपा नमुना मार्गमा टोल विकास सस्थाका अध्यक्ष लीला बहादुर बुढाथोकीको अगुवाइमा आइतबार देखि गाउँ टोलमा गस्ती गर्ने निर्णय भएको छ ।

नमुना समाजका अध्यक्ष डिल्लिसेर राई, प्रस्तावित नमुना सामुदायिक वनका अध्यक्ष सिवन कुमार राई, समाजका बुद्धिजीवी बाला जित राई, अक्ष कुमार राई र युवाहरूको सहभागितामा धरान १७ स्थित डाँडा घोपा नमुना मार्गमा आज बसेको बैठकले भोलि आइतबार देखि २८ जना ब्यक्तिहरु गस्ती टोलिमा समावेश हुने जानकारी दिइएको छ ।

गाउँ टोलमा अपरिचित ब्याक्तिहरुको भिडभाड बढेको हुनाले त्यो भिडभाड नियन्त्रण गर्नको लागि दैनिक बिहान ५ देखि १० बजे, १० देखि ३ बजे, ३ देखि साँझ ८ बजे सम्म गस्ती गर्ने निर्णय भएको छ । प्रत्येक गस्ती टोलिमा ६ जनाको समूह हुनेछ ।

गस्ती टोली परिचालन गर्न १७ नम्बर वडा अध्यक्ष (सूर्य) मनोज भट्टराई र रेल्वे चौकीका असईसँग पनि सहकार्य गरेको बताइएको छ । सामाजिक दुरी कायम गरेर भोलि आइतबार देखि गाउँ टोलमा गस्ती गरिने बताइएको छ ।