धरान : तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकामा दुई दिनको अन्तरालमा ६ को जना र्‍यापिड डायग्नोष्टिक टेस्ट (आरडीटी) परीक्षणमा कोरोना पोजेटिभ देखिएको छ ।

मेन्छयायेम गाउँपालिकामा भएको आरडीटी परीक्षणका क्रममा एक युवकमा नतिजा पोजेटिभ देखिएको दुई दिन पछि थप ५ जनामा कोरोना पोजेटिभ देखिएकोमा ४ जनालाई जिल्ला अस्पताल पठाइएको मेन्छ्यायेम गाउँपालिकाका अध्यक्ष यादवबहादुर खापुङले जानकारी दिएका छन् ।

शुक्रबारको परीक्षणमा एक महिना अघि काठमाडौँ गएर मेन्छ्यायेम फर्किएका युवाको कोरोना पोजेटिभ देखिएको थियो भने शनिवार गरिएको परीक्षणमा थप ५ जनाको कोरोना पोजेटिभ देखिएको गाउँपालिकाका प्रवक्ता प्रदीप बुढाथोकीले बताए । शनिवार गरिएको आरडीटी परीक्षणमा थप ५ जनाको रिपोर्ट कोरोना पोजेटिभ देखिए पछि १ युवाका बुवा र आमालाई जिल्ला अस्पताल पठाइएको गाउँपालिकाका प्रवक्ता बुढाथोकीले जानकारी दिए । अन्य दुई जना युवाहरूलाई भने मेन्छ्यायेम गाउँपालिकामा निर्माण गरिएको आईसोलेसन वार्डमा राखिएको छ ।

कोरोना पोजेटिभ देखिएका युवाहरू गाउमै साथीभाइ र परिवार सँगै बस्दै आएका थिए । जिल्ला स्वास्थ्य कार्यालय र गाउँपालिकाका स्वास्थ्यकर्मीको संयुक्त टोलीले गाउँपालिका स्थित होम क्वारेन्टाइन र क्वारेन्टाइनमा बसेकाहरूको आरडीटी परीक्षण सुरु गरेको छ ।

आरडीटी पोजेटिभ देखिएका युवाहरू स्थानीयवासी हुन् । आरडीटी पोजेटिभ देखिए पनि कोरोना सम्बन्धी कुनै लक्षण नदेखिएको जिल्ला अस्पताल तेह्रथुमले जनाएको छ ।

ती युवाहरूको स्वाब परीक्षणको लागि कोसी अञ्चल अस्पताल विराटनगरमा पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले जानकारी दिएका छन् ।

मेन्छ्यायेम गाउँपालिकामा आरडीटी परीक्षणका क्रममा कोरोना पोजेटिभको रिपोर्ट आउनेको सङ्ख्या बढे पछि छिमेकी गाउँपालिका र स्थानीय तहले आफ्नो सीमा नाकामा कडाइ गरेको तेह्रथुमबाट संचारकर्मी मनोज लिम्बूले कपुरी न्युजलाई जानकारी दिएका छन् ।

सुनसरीको हरीनगराका एक जनामा पनि पोजेटिभ देखियो
शनिवार सुनसरीको हरिनगरामा पनि र्‍यापिड टेस्ट गर्दा एक जना पुरुषमा कोरोना पोजेटिभ रिपोर्ट आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

प्रदेश १ मा शनिबारसम्म एक हजार ८ सय ९७ व्यक्तिको कोरोना परीक्षण भएको छ । दू्रत परीक्षण विधि(आरडिटी) र ल्याबमा गरिने पीसीआर विधिबाट उनीहरूको परीक्षण भएको हो । सबैभन्दा बढी आरडिटी विधिबाट एक हजार ५ सय २६ को नमुना परीक्षण भएको छ ।

आरडीटी विधिबाट जम्मा २ सय १० महिला र १ हजार ३ सय १६ जनाको परीक्षण भएको छ । पीसीआर विधिबाट भने ६८ महिला र ३ सय ३ जना पुरुषको परीक्षण भएको हो । ५७ पुरुष र २ सय ८६ पुरुषको नतिजा भने नेगेटिभ आएको छ । स्वाब सङ्कलन गरेको ल्याबमा ल्याएर गरिने परीक्षण विधि पीसीआर हो ।
कोरोना सूचना डेस्कका अनुसार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोसी अस्पतालमा पीसीआर विधिबाट नमुना परीक्षण हुँदै आएको छ ।

यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको सङ्ख्या शनिबारसम्म कूल ६ सय ६ जना पुगेको छ । २० जना डिस्चार्ज भएका छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ५ महिला र १७ पुरुषसहित २२ जना छन् ।
होम क्वारेन्टाइनमा जम्मा ४ हजार ४९ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।