धरान : नेपाल राष्ट्रिय सुरक्षा गार्ड श्रमिक सङ्घका अध्यक्षले बीपी कोईरला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत धरान बाहिरका सुरक्षा गार्डलाई लकडाउन अवधिभर आफ्नो होटेलमा बस्न खानको व्यवस्था गरिदिएका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ सय ३२ जना कार्यरत मध्ये १० जना धरान बाहिरका छन् । उनीहरूलाई लकडाउन अवधिभरिका लागि सङ्घका अध्यक्ष राजु श्रेष्ठले बस्ने र खानेको व्यवस्था गरिदिएका हुन् ।

जसमा धरान–१८ नम्बर वडा कार्यालयले खाद्यान्नका लागि सहयोग गर्ने भएको छ । अध्यक्ष श्रेष्ठले धरान–१८ मा सञ्चालनमा ल्याएको होटेल ब्लुवर्ड लज तथा होटेलमा सुरक्षा गार्डलाई बस्नेखानेको व्यवस्था गरिदिएका हुन् ।
अस्पताल जस्तो संवेदनशील क्षेत्रमा कार्यरत सुरक्षा श्रमिकहरू घरमा जाँदा थप समस्या हुन सक्ने भएकाले पनि उनीहरूलाई बस्नेखानेको व्यवस्था गरिदिएको बताएका हुन् ।

‘अस्पतालमा काम गर्ने सुरक्षाकर्मीलाई गाउँघरमा जाँदा अप्ठ्यारो मान्ने स्थिति सिर्जना भएपछि उनीहरूको मानसिकतालाई बुझेर नै व्यक्तिगत पहलमा खानेबस्ने व्यवस्था गरिदिएको हुँ’ उनले भने, ‘यही विषय वडालाई जानकारी गराउँदा वडाले पनि खाद्यान्न सहयोग गर्ने प्रतिबद्धता गरेकोे छ ।’

प्रतिष्ठानमा अहिले भिआइपी कम्पनीले सुरक्षाको जिम्मा लिएको छ । हाल धरानभन्दा बाहिर वराहक्षेत्रको चतरा, नहडा, भरौल, धरानको पटनाली, पानबारी र मोरङको याङ्सिला क्षेत्रबाट सुरक्षाकर्मी कामका लागि आउने गरेका छन् । लकडाउनको अवधिमा आउजाउ गर्दा सुरक्षाकर्मीलाई नै समस्या हुने भएकाले व्यवस्था गरिएको उनले बताए ।