धरान : लकडाउनका कारण मधेशमा बिचल्लीमा परेका जडिबुटी बेच्नेहरुको उद्दार गर्न प्रदेश सरकारसंग माग गरिएको छ ।

१ नम्बर प्रदेश सरकारको ध्यानाकर्षण गराउदै संखुवासभा जिल्ला शिङसा क्षेत्रको भोटखोला गाउँपालिकाका ५७ जना बिचल्लीमा परेको भन्दै सबैको उद्दारको आव्हान गरिएको छ । शिङसा कल्याण केन्द्र सुनसरीले पत्रकार सम्मेलनको आयोजना गर्दै बिचल्लीमा परेकालाई उद्दारको माग गरेको छ ।

जडीवुटी बेच्दै तराई झरेकाहरु अहिले सुनसरी,झापा,मोरङ लगायतका जिल्लामा अलपत्र अवस्थामा रहेको जानकारी दिईएको छ । चैतको दोस्रो हप्तामा सबै घर फिरी सक्ने उनीहरु लकडाउनका कारण बिचल्लीमा परेका हुन् । क्रमिक रुपमा लकडाउन लम्बिएपछि खेतीपाती गर्नबाट बन्चित हुनुपर्ने अवस्था सिर्जना भएको उनीहरुले बताएका छन् । पुष माघमा जाडो छल्नेसंगै जडिबुटी बेच्न स-परिवार मधेश झर्ने चलन छ । यसरी परम्परा रुपमा मधेश झर्ने चलनलाई 'काविला' भन्ने गरिन्छ । 'काविला' झर्दा कसैको सबै परिवार र कसैको बाँडिएर झर्ने चलन छ ।

५७ जनामा कसैको यसरी नै आधा परिवार बाडिएको कसैको घरमा यतिबेला ताला लगाएको अवस्थामा छ । घरमा रहेकाहरु पनि प्राय बालबालिका छन । शिङसा क्षेत्र भोटखोलामा अब धुमधाम कोदोको बिउ राख्ने कामको चटारो छ । यसरी बिउ राख्नको लागि पहिले बुक खन्नुपर्ने हुन्छ । यसरी खनिएको बुकलाई आगोले पोलेर खरानी बनाइन्छ । त्यही खरानीमा नै कोदोको बिउ ब्याडको रुपमा तयार पारेर राखिन्छ ।

खेतीपाती लगाउने समयमा आफुहरु तराई क्षेत्रमै लकडाउनको कारण अड्किएको भन्दै घर फर्किर्ने वातावरण बनाईदिन माग गरीरहेका छन् ।