धरान : उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा दुई दिनमा २ सय ५२ जनाको स्वाब लिइएको छ ।

आइतबार नेपाली सेनाको हेलिकोप्टरबाट नेपाली सेनाको स्वास्थ्यकर्मी हिजो भुल्केमा आईपुगेको थियो । आइतबार पहिलो दिन भुल्केको मस्जिद आसपासको क्षेत्रका मुस्लिम समुदायका १ सय ५२ जनाको कोरोना परीक्षणका लागि स्वाब लिइएको थियो भने आज थप १ सय जनाको स्वाब लिइएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुबेदीले जानकारी दिएका छन् ।

भुल्के मस्जिदमा बसेका १३ जना मुस्लिम धर्मगुरुहरूमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि उनीहरूको ट्राभल हिस्ट्रीको आधारमा चौदण्डीगढी नगरपालिकामा पनि उनीहरू बसेको पाइएकोले चौदण्डीगढी नगरपालिकाको वडानं. ५ सिवाईमा पनि नेपाली सेनाको स्वास्थ्यकर्मीको टोलीले त्यहाका बासिन्दाहरूको स्वाब लिने बताइएको थियो । स्वाब परीक्षणका लागि चाहिने भिटिएन भाईरल ट्रान्सपोर्ट मिडिया सकिएकोले सिवाईमा स्वाब सङ्कलन नगरी केन्द्रबाट आएको स्वास्थ्यकर्मी आज फर्किएका छन् ।

शुक्रवार १ नेपाली सहित ११ भारतीय नागरिक गरी १२ जनामा कोरोना पोजेटिभ देखिएको थियो भने त्यही मस्जिदमा बस्ने अर्काे एक जनामा पनि शनिवार कोरोना पोजेटिभ भएको पाइएपछि उदयपुरको भुल्के स्थित मस्जिदमा बस्ने १३ जना कोरोना भाइरस सङ्क्रमित पुगेका छन् ।