धरान : सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले सुनसरी उद्योग वाणिज्य सङ्घको अभियानमा साथ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजना भएको छलफल कार्यक्रममा पौडेलले बिहान ६ देखि ९ बजेसम्म पसलहरू आलोपालो गरी खोल्न दिने र स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशनहरू पालना गर्नुपर्ने बताएका छन् । पौडेलले सुनसरी उद्योग वाणिज्य सङ्घले गठन गरेको बजार अनुगमन तथा आपूर्ति समन्वय समितिले गर्ने कार्यहरूप्रति धन्यवाद ज्ञापन गर्दै सङ्घको अभियानमा सदैव साथ र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । त्यसै गरी पौडेलले व्यापारीले अवैधानिक तवरले कमाउने नियत राखी व्यवसाय सञ्चालन गरेमा कानुनी दायरामा ल्याउने समेत बताएका छन् ।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डिराज न्यौपानेले व्यवसायीलाई दिएको समय भन्दा अन्य समय पसल नखोल्न अनुरोध गर्दै उक्त समयलाई अटेर गरेमा कारबाही गर्ने बताएका छन् । न्यौपानेले भने “हामीले जनताका लागि नै काम गरेका हौ र जनताले हामीलाई बुझ्दिनुहुन्छ भन्ने विश्वास राखेका छौँ” ।

उक्त छलफल कार्यक्रममा सुनसरी उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष तथा बजार अनुगमन तथा आपूर्ति समन्वय समितिका संयोजक शिवराज श्रेष्ठले दैनिक उपभोग्य बस्तुको भाउ बढ्ने र कालोबजारीको गुनासो आएकोले यो समितिले सो कार्यसम्बन्धमा छानबिन गर्ने तथा उपभोक्ता नठगिउन् भनी पसलहरूमा मूल्यसुचि समेत राखिने बताए । श्रेष्ठले एउटा घरबाट एक जना मात्र खरिद गर्न जान र व्यवसायीहरूले पनि सरसफाइ र सामाजिक दुरीका सम्बन्धमा ध्यान पुर्‍याउन अनुरोध गरे ।

कार्यक्रममा सङ्घका अध्यक्ष गिरिधारी सापकोटाले सुनसरी उद्योग वाणिज्य सङ्घले धरान उपमहानगरपालिका मार्फत लकडाउनका कारण पीडामा परेका व्यक्तिहरूका लागि राहत उपलब्ध गराइएको र धरानवासीहरूको हितका लागि सङ्घले समन्वय गरिरहेका बताए । अध्यक्ष सापकोटाले “हामी सदैव उपभोक्ता र व्यवसायीहरूको हितको लागि प्रतिबद्ध रहेका छौँ र यो लकडाउनको अवस्थामा दैनिक उपभोग्य वस्तुका पसल खोल्नका लागि व्यवसायीहरूले सुनसरी उद्योग वाणिज्य सङ्घसँग अनिवार्य रूपमा समन्वय गर्नुपर्ने” बताए ।

कार्यसमिति सदस्य एवम् अनुगमन समितिका सदस्य विष्णु बरालका अनुसार समितिले कुनै पनि वस्तुहरूको बजारमा अभाव हुन नदिन समितिले समन्वय गर्ने तथा खाद्यान्न तथा तरकारीको गुणस्तर र मूल्य सम्बन्धमा पनि समितिले अनुगमन गर्ने बताए । कार्यक्रममा, निवर्तमान अध्यक्ष राजेन्द्र साह, प्रमुख जिल्ला अधिकारी राजेश पौडेल, इलाका प्रशासन कार्यालयका प्रमुख चन्द्रबहादुर कार्की, इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी ढुण्डिराज न्यौपाने, सशस्त्र प्रहरी बेस क्याम्प धरानका प्रहरी नायव उपरीक्षक राजेन्द्र कुमार श्रेष्ठ, लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो भने कार्यक्रममा समितिका सदस्यहरूको समेत रहेको थियो ।

पत्रकारको सुरक्षाका लागि ज्याकेट हस्तान्तरण

Ubasangh-Press
लकडाउनको अवस्थामा पत्रकारको सुरक्षाका लागि सुनसरी उद्योग वाणिज्य सङ्घले ज्याकेट प्रदान गरेको छ ।

समाचार सङ्कलनका क्रममा पत्रकारको पहिचान हुन सजिलो होस् भन्ने हेतुले धरानमा कार्यरत पत्रकारको सुरक्षाको लागि २० थान ज्याकेट हस्तान्तरण गरेको हो ।

पत्रकार महासङ्घ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्ले, कोषाध्यक्ष गोविन्द बस्नेत र अन्य पत्रकारहरूलाई संयुक्त हस्तान्तरण गर्दै अध्यक्ष गिरिधारी सापकोटाले सुनसरी उद्योग वाणिज्य सङ्घले पत्रकारहरूको सुरक्षा र हितका लागि सुनसरी उद्योग वाणिज्य सङ्घ सदैव सकारात्मक रहेको बताए ।