धरान : लकडाउनको बेलामा काठमाडौँमा रहेका धरानवासीलाई धरान उपमहानगरपालिकाले धरान ल्याउन सुरु गरेको छ ।

आज पहिलो चरण अन्तर्गत ४ जना बच्चा सहित ३८ जनालाई काठमाडौँबाट धरान ल्याईपुर्याईएको उद्धार समितिका संयोजक धरान १७ नं. वडाका वडाध्यक्ष मनोज भट्टराईले जानकारी दिएका छन् । पहिलो चरणमा उद्धार गरिएकाहरू धरान ४, ५, १३, १७ र २० नम्बर वडाको रहेका छन् ।

उनीहरूलाई आज बस रिजर्भ गरेर धरान ल्याईपुर्याईएको हो । धरान उपमहानगरपालिका र धरान काठमाडौँ सरोकार समाजको सहकार्यमा काठमाडौँमा लकडाउनका बेलामा अलपत्र परेकाहरूलाई ल्याउन थालिएको हो ।

अझै पनि थप धरानबासी काठमाडौँमा रहेकोले उनीहरूको तथ्याङ्क सङ्कलन भइरहेको र तीन वटा गाडी तयारी अवस्थामा राखिएको बताइएको छ । पहिलो चरणमा धरान ल्याईपुर्याईएका सबैलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना हेल्प डेस्कमा स्वास्थ्य परीक्षण गराई ट्राभल हिस्ट्री नभएकोले होम क्वारेन्टाइनमा पठाइएको संयोजक भट्टराईले कपुरी न्युजलाई जानकारी दिएका छन् ।