धरान : सुनसरीमा भोलि देखि लकडाउन कडा हुने भएको छ ।

सुनसरी उद्योग वाणिज्य सङ्घको कार्यक्रममा बुधवार भएको छलफलमा सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले सर्वसाधारणको सहजताका लागि बिहान ६ बजे देखि ९ बजे सम्म आलोपालो सिस्टममा पसल खोल्न दिने भने पछि आज सुनसरीमा लकडाउन खुकुलो देखिएको थियो । उद्योग वाणिज्य सङ्घका पदाधिकारी र जनप्रतिनिधिहरुले सर्वसाधारणको सहजताको लागि बजार खोल्नुपर्ने भनेपछि आफूले पनि सहमति जनाएको बताउँदै प्रमुख जिल्ला अधिकारी पौडेलले भने “ बजार ब्यावस्थित नभएकोले अर्को निर्णय नहुन्जेल सम्मका लागि भोलि देखि औषधी पसल, दूध, हरियो सागसब्जी बाहेक सबै पसल खोल्न पाइने छैन ।”

उद्योग वाणिज्य सङ्घका पदाधिकारी, जनप्रतिनिधिहरुले बजारलाई व्यवस्थित बनाउन नसक्दा कोरोना भाइरस सङ्क्रमणको जोखिम अत्यन्तै बढेको देखियो त्यसैले लकडाउनलाई कडा गर्ने जिल्ला प्रशासन कार्यालयले निर्णय गरेको प्रजिअ पौडेलले बताए । बुधवार र बिहीबार जिल्ला भरी लकडाउन अलि खुकुलो भएको स्विकार्दै अव उदयपुरमा कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढेको बढैै भएकोले लकडाउनलाई कडा पार्नुपर्ने प्रजिअ पौडेलले बताए ।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डिराज न्यौपानेले भोलि धरानमा अरू दिनको तुलनामा लकडाउन कडा हुने बताएका छन् । औषधी पसल बाहेक अत्यावश्यक सामाग्रीका पसल समेत नखोलिने उनले बताए ।

यसै सन्दर्भमा सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गिरीधारी सापकोटाले पनि कोरोनाको जोखिमको कारण लकडाउन कडा पार्ने कुरामा सहमत रहेको कपुरी न्युजलाई बताएका छन् । सर्वसाधारणको अवस्थालाई मध्यनजर गरी बिहान ६ बजे देखि ९ बजे सम्म केही सहज वातावरण बनाउन भनेका थियौ तर त्यसो हुन सकेन । पहिले आफू सुरक्षित रहौँ उनले भने ।

धरान उपमहानगरपालिकाका मेयर तिलक राईले लकडाउन कडा पार्ने नगर कार्यपालिकाको बैठकबाटै निर्णय भएको बताए । तरकारीलाई व्यवस्थित तरिकाले वडा वडामा वडाध्यक्षहरूले समन्वय गरेर बिक्री गर्नै मात्रै भनेका थियौ । तर पसल नै आलोपालो सिस्टममा खोल्ने भन्ने कुरा स्थानीय सरकार धरान उपमहानगरपालिकालाई थाहा नभएको मेयर राईले बताए । उदयपुरमा सङ्क्रमितको सङ्ख्या बढेकाले धरानमा सम्भावित जोखिमलाई मध्यनजर गरी लकडाउनलाई धरानमा कडा पार्ने मेयर राईको भनाई छ ।