धरान : भोजपुरका कोरोना सङ्क्रमितको मावली हजुरबा र माइजूको र्‍यापिड टेस्ट गर्दा उनीहरूको रिपोर्ट नेगेटिभ आएको छ ।

धरान १३ स्थित मावली घरमा मामा विदेशमै रहेको र ८४ वर्षीय हजुरबा, माइजू र दुई सा-साना नानीहरू रहेकोमा उनी साउदीबाट आउँदा मावली निस्किएका थिए । उनको ट्राभल हिस्ट्रीका अनुसार उनी मावलीमा आएर डेढ घण्टा बसेर खाना खाएर गएका थिए । उनी मावली आएको यात्रा विवरण उनले बताए पछि आज धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले उनीहरूलाई घरैमा गएर र्‍यापिड परीक्षण गरेको छ । हजुरबा र माइजूको परीक्षण गर्दा उनीहरूको रिपोर्ट कोरोना नभएको आएको स्वास्थ्य महाशाखाका वरिष्ठ कविराज रामबाबु यादवले जानकारी दिएका छन् । दुई जना नानीहरूको भोलि र्‍यापिड किट उपलब्ध भएपछि परीक्षण गरिने बताइएको छ ।

कोरोना सङ्क्रमित भएका युवालाई भोजपुरबाट विराटनगर आजै ल्याउने हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेम कुमार राईले बताएका छन् । सङ्क्रमित युवाको परिवार र अरू उनीसँग सम्पर्कमा आएकाहरू १४ जनाको थ्रोट स्वाब लिनु परेकोले उनलाई विराटनगर पठाउन ढिलो भएको अध्यक्ष राईले बताए । सङ्क्रमित युवासँग सम्पर्कमा रहेका ५ जनाको पनि र्‍यापिड टेस्ट गरिएको छ । उनीहरूको रिपोर्ट नेगेटिभ कोरोना नभएको आएको छ ।

झुम्काबाट चतरा, धरान, इटहरी, उदयपुरको बेलका नगरपालिकाको मैनामैनी हुँदै भोपुरको होम्ताङ पुगेका युवाले धेरैनै लापर्वही गरेकोले हतुवागढी गाउँपालिकामा सर्व साधारणमा त्रास फैलिएको अध्यक्ष राईले बताएका छन् । उनी जाँदा बाटोमा थुप्रै जनासँग भेटेको र बसेको उनले बताएका छन् । त्यो सँगै गाउका युवाहरूसँग भलिबल खेल्ने र सिकार गर्न हिँडेकोले धेरै नै लापर्वही गरेको देखिन्छ । यसले गर्दा हतुवागढी गाउँपालिकाको होम्ताङमा मात्रै होइन पुरै गाउँपालिकामा समस्या आउन सक्ने बताइएको छ ।

उनलाई यो समाचार तयार पार्दा सम्म भोजपुरको घोरेटारबाट विराटनगरको कोरोना अस्पतालमा हिँडाउन लागिएको बताइएको छ । उनलाई विराटनगर सम्म ल्याउन दुई वटा एम्बुलेन्सको व्यवस्था गरिएको छ । उनलाई घोरेटारबाट चुहार सम्म उताकै एम्बुलेन्सले ल्याउने छ भने चुहारबाट भने धरानबाट एम्बुलेन्स लिन पुगेको बताइएको छ । उनलाई चुहार, मैनामैनी, चतरा घाट हुँदै विराटनगर पुर्‍याउने रुट बनाइएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिएका छन् । उनलाई आज राती जसरी पनि विराटनगर पुर्याईने बताइएको छ ।

भोलिदेखि हतुवागढी गाउँपालिकाको ट्रेसिङ गरिएका क्षेत्रहरूमा प्रदेश सरकारले पठाएको स्वास्थ्यकर्मीको टोलीद्वारा आशङ्का गरिएकाहरूको स्वास्थ्य परीक्षण गरिने तयारी गरिएको छ ।