धरान : भोजपुरका कोरोना सङ्क्रमित युवालाई आज मात्रै विराटनगरको कोरोना अस्पताल ल्याइँदै छ ।

हिजो सङ्क्रमित युवाको परिवार र उनीसँग सम्पर्कमा आएका १४ जनाको थ्रोट स्वाब लिँदा रात परेको र उनलाई राति ल्याउन जोखिम भएकोले हिजो कोरोना अस्पताल ल्याउन नसकिएको हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । उनका अनुसार सङ्क्रमितलाई अस्पताल सम्म पुर्‍याउन निकै धेरै सावधानी अपनाउनुपर्ने भएकोले हिजो अस्पताल पठाउन नसकिएको हो ।

उनलाई हिजो छोटो बाटो दुधकोशीको चुहार हुँदै ल्याइने बताइएको थियो । तर उनलाई चुहारकोे बाटो ल्याउँदा दुधकोशीको झोलुङ्गे पुलमा हिँडाउनुपर्ने भएकोले पुलमा जोखिम हुने भन्दै आज एउटै एम्बुलेन्सबाट घोरेटारबाट भोजपुर, लेगुवाघाट, हिले, धनकुटा हुँदै विराटनगर पुर्‍याउने अध्यक्ष राईले बताएका छन् । सङ्क्रमित युवाको गाउँ हतुवागढीबाट विराटनगर सम्म पुग्न करिब ९ घण्टा लाग्ने बताइएको छ । विशेष सावधानी र सुरक्षाका साथ कोरोना अस्पताल विराटनगर सङ्क्रमित युवालाई पठाईदै गरेको अध्यक्ष राईले जानकारी दिएका छन् ।

यसै गरी कोरोना सङ्क्रमित युवा भेटिएको ठाउँ हतुवागढी गाउँपालिकामा प्रदेश नं. १ का मुख्यमन्त्री सेरधन राई र सामाजिक विकास मन्त्री जीवन घिमिरे आउँदै गरेको अध्यक्ष राईले जानकारी दिएका छन् । सङ्क्रमित युवाको अटेरीपनले हतुवागढी गाउँपालिका अत्यन्तै जोखिममा भएकोले स्वास्थ्य सामाग्री र चिकित्सक सहित मन्त्री हतुवागढी पुग्ने बताइएको छ । यो समाचार तयार पारुन्जेल मन्त्रीहरू विराटनगरबाट उडन तयारी रहेको र भोजपुरको हतुवागढी ब्यारेकमा हेलिकोप्टर ल्याण्डीङको पर्खाईमा रहेको हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले बताएका छन् ।