धरान : आफ्नो निर्वाचन क्षेत्र भोजपुरको हतुवागढीमा एक जना युवामा कोरोना सङ्क्रमित भेटिएपछि मुख्यमन्त्री सेरधन राई दुई मन्त्री सहित हतुवागढी पुगेर फर्किएका छन् ।

हतुवागढी गाउँपालिकाको वडा नं. ६ होम्ताङका एक युवामा कोरोना पोजेटिभ देखिएपछि सामाजिक विकास मन्त्री जीवन घिमिरे र आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की सँगै केही स्वास्थ्य सामाग्री हेलिकोप्टरमा लिएर हतुवागढी मुख्यमन्त्री राई पुगेका हुन् ।

मुख्यमन्त्री राईले पहाडी क्षेत्रमा यसरी कोरोना जस्तो महामारी रोग भेटिनुले पहाडी क्षेत्रमा जोखिम बढाएको भन्दै यो सङ्कटको घडीमा सबैले मिलेर काम गर्नुपर्ने बताएका छन् । भोजपुरमा कोरोना सङ्क्रमणले भोजपुरको दक्षिणी बेल्ट पुरै जोखिममा भएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले मन्त्रीहरूलाई जानकारी गराएका थिए । मुख्यमन्त्री सेरधन राईले यो सङ्कटको घडीमा सबैले संयम अपनाएर महामारी नियन्त्रणका लागि लाग्नुपर्ने, स्वास्थ्यमा विशेष अभियान चलाउनु पर्ने र राहत लगायतको प्रभावकारी व्यवस्था गर्न प्रदेश सरकार तयार रहेको बताए ।

उनीसँगै पुगेका दुई मन्त्री सामाजिक विकास मन्त्री जीवन घिमिरे, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले पनि सो क्षेत्रको बारेमा प्रदेश सरकारले विशेष भूमिका खेल्ने बताएका छन् ।

मन्त्रीहरू चढेको हेलिकोप्टर मा केही स्वास्थ्य सामाग्रीहरू १० थान पिपिई, ४ थान थर्मल गन लगायतको स्वास्थ्य सम्बन्धी सामाग्रीहरू हतुवागढी पुर्‍याएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । थप स्वास्थ्य सामाग्री गाडी मार्फत प्रदेश सरकारले पठाउँदै गरेको मन्त्रीहरूले जानकारी दिएको उनले बताए ।

प्रदेश एकको राजधानी विराटनगरबाट हेलिकोप्टर मार्फत हतुवागढी पुगेका मन्त्रीहरू हतुवागढीको ब्यारेकमा करिब अढाई घण्टा बिताएर त्यहाँको अवस्थाको बारेमा जानकारी लिएर फर्किएका छन् ।