धरान : झापामा आज कोरोना सङ्क्रमित भएका मानिस फाल्गुण २७ गते भारतको दिल्लीबाट नेपाल आएको खुलेको छ ।

उनी भारतको दिल्लीमा सम्पन्न मुस्लिम धर्मावलम्वीहरुको सम्मेलनमा सहभागी भएर फर्किएका हुन् । उनि भारतबाट आएको ४८ दिन पछि मात्रै कोरोना सङ्क्रमण भएको पुष्टि भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

उनको थ्रोट स्वाब विराटनगरको कोसी अस्पतालमा परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । झापाको बाह्रदशी गाउँपालिका वडा नं. ४ निवासी उनलाई अहिले विराटनगर कोरोना विशेष अस्पताल ल्याउने तयारी भइरहेको छ ।

प्रदेश १ मा मात्रै कोरोना सङ्क्रमितको सङ्ख्या ३१ पुग्यो
हालसम्मधेरै कोरोना सङ्क्रमित प्रदेश नं. १ मा देखिएको छ । अहिले सम्म प्रदेश नं. १ मा मात्रै कोरोना सङ्क्रमितको सङ्ख्या ३१ पुगेको छ ।

गएको वैशाख ५ गते उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केको नुरी मस्जिदमा रहेका १ नेपाली सहित ११ भारतीय नागरिकमा कोरोना भएको पुष्टि भएको थियो । भुल्केमा मात्रै कोरोना सङ्क्रमितको सङ्ख्या २८ पुगेको छ ।

यसै गरी भोजपुर जिल्लाको हतुवागढी गाउँपालिका-६ होम्ताङका एक विदेशबाट आएको युवामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो । शुक्रवार झापाको दमकका एक जनामा कोरोना पोजेटिभ भेटिएपछि प्रदेश नं. १ मा मात्रै कोरोना सङ्क्रमितको सङ्ख्या ३० पुगेको थियो । पुन: झापामा नयाँ कोरोना सङ्क्रमित भेटिएपछि प्रदेश नं. १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३१ पुगेको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमित सबैको विराटनगर स्थित कोसी अस्पतालको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको सामाजिक विकास स्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहेताले जानकारी दिएका छन् । अहिले सम्म देशभर कोरोना सङ्क्रमितको सङ्ख्या ५२ पुगेको छ भने १६ जना निको भईसकेका छन् ।