धरान : प्रहरीले सोमबार साँझ लकडाउन उल्लङ्घन गर्ने ८० जनालाई नियन्त्रणमा लिएको छ ।

धरान उपमहानगरपालिकामा लकडाउनको बेलामा साँझ र बिहान लकडाउन उल्लङ्घन गर्नेहरूको सङ्ख्या बढ्दै गएकोले धरान प्रहरीले आज ७२ पुरुष, ८ महिला सहित ८० जनालाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय धरानका प्रमुख सई हेम लिङदेनले जानकारी दिएका छन् । नियन्त्रणमा लिइएका उनीहरूलाई दुई घण्टा भानु चौकमा राखेर कोरोना सम्बन्धी जानकारी दिएर फेरी लकडाउन उल्लङ्घन नगर्ने सर्तमा छाडिएको प्रहरीले बताएको छ ।

उदयपुर र भोजपुरमा कोरोना सङ्क्रमित भेटिएपछि धरानको लकडाउनलाई कडाइ गर्ने पटक पटक निर्णय हुँदा पनि प्रहरीलाई नटेरी सर्वसाधारण लकडाउन उल्लङ्घन गर्दे बजार निस्किनेहरूको सङ्ख्या दिनानुदिन बढ्दै गएको पाइएको छ ।