धरान : सोमबार एउटा भिडियो सामाजिक सन्जाललमा निकै भाइरल भयोे ।

खोलामा एक्कासि बाढी आएर जल्दै गरेको चिता बगेको भिडियो धेरैलाई अनौठो लाग्यो । मलामीहरुको भाग दौड यो भिडियो ले सामाजिक सञ्जालमा निकै चर्चा पायो ।

भएको के थियो त ?

इलाम जिल्लाको फाकफोकथुम गाउँपालिका वडानं. ३ निवासी रामप्रसाद लकान्द्री आइतबार सुँगुरको चारो खोज्न सल्लेरी जङ्गलमा गएका थिए ।

लकान्द्रीको भिरबाट लडेर मृत्यु भयो । उनको जिल्ला अस्पताल इलाममा पोस्टमार्टम गरी गाउँमा अन्तिम दाहसंस्कार गर्नका लागि स्थानीय फाकफोक खोलामा लगियो । जब चिता बनाएर आगो लगाइयो त्यही बेला घाम लागिरहेको फाकफोक खोलामा एक्कासि भेल बाढी आयो । हेर्दा हेर्दै चितामा भर्खर जल्दे गरेको शव बगाईदियो । मलामी गएका सबै चकित भए ।

करिब डेढ सयको हाराहारीमा रहेका मलामीहरूलाई पनि झन्डै खोलाले सोरेर लग्यो । सुख्खायाम वैशाखको मध्य दिनमा चर्को घाम लागि रहेकोमा एक्कासि खोलामा बाढी आयो र भर्खर जल्न लागेको चिता बगाएर लग्यो फाकफोकथुम गाउँपालिकाका उपाध्यक्ष सरस्वती राईले बताइन् ।

चिता मात्रै खोलाले लगेन चिता देखि केही मास्तिर विद्यालयबाट घर फर्किने क्रममा खोलामा पौडी खेल्दै गरेका तीन जना बालक मध्ये १ जना बालकलाई पनि खोलाले बगायो । उनको शव बगेको ठाउँबाट करिब २ किलोमिटर तल भेटियो । बालकको शव पोष्टमाटमका लागि जिल्ला पठाइएको उपाध्यक्ष राईले बताइन् । स्थानीय सिंहदेवी माविको कक्षा ७ मा पढ्दै गरेका १३ वर्षीय बालक मनोज लिम्बुलाई खोलाले बगाएको हो ।

यसरी मध्य वैशाखको महिना र मध्यदिन घाम टन्टलापुर लागिरहेको बेलामा एक्कासि खोलामा बाढी आउनुको मुख्य कारण हिजो दिउसो पाँचथर जिल्लासँग सीमा जोडिएको ठाउँ घुरविसे पञ्चमी क्षेत्रमा असिना पानी अत्यन्तै ठुलो परेकोले खोलामा बाढी आएको बताइएको छ ।

चितामा जल्दै गरेको शव अहिले सम्म फेला परेको छैन । बगेको शवको खोजी कार्य जारी रहेको गाउँपालिका उपाध्यक्ष सरस्वती राईले जानकारी दिएकी छिन् । यो समाचार तयार पारुन्जेल शव खोज्नका लागि प्रहरी परिचालन गरेको भए पनि फेला नपारेको उनले बताइन् ।