धरान : धरान उपमहानगरपालिका ४ पत्रङबारी सामुदायिक वन परिसरभित्र रुख काट्ने क्रममा हिजो बुधवार रुखले किचेर एक जनाको मृत्यु भएको छ ।

सामुदायिक वन परिसर भित्र अबैधरुपमा रुख काट्ने क्रममा धरान-४ निवासी २० वर्षीय कुमार राईलाई रुखको हाँगाले लाग्दा गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका कुमारलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा पु्याईएको थियो ।

प्रतिष्ठानमा उपचार हुन नसकेपछि न्युरो अस्पताल विराटनगर लगिएको थियो । न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा गए राति कुमारको मृत्यु भएपछि घटना सार्वजनिक भएको थियो । सो घटनामा संलग्न रहेको ४ जनालाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।

घटनाको अहिले अनुसन्धान भइरहेकाले आरोपितहरूको नाम सार्वजनिक नगरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । पक्राउ परेकाहरुले सामुदायिक बनमा सुकेको रुखको हाँगा काटेको बताए पनि घटना स्थलमा हरियो सखुवाको रुख काटेको पाईएको छ ।