धरान : धरान उपमहानगरपालिकामा खाद्यान्नलाई सहज बनाउनकालागि शनिवारदेखि बिहान ६ बजे देखि ९ बजे सम्म अत्यावश्यक खाद्यान्नका पसल खोलिने भएको छ ।

धरान उपमहानगरपालिका,सुनसरी उद्योग वाणिज्य सङ्घ र धरानको २० वटै वडाका वडासदस्यहरुको सहभागिता धरान उपमहानगरमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । धरानमा तरकारीजन्य बस्तुलाई जसरी सहज तरिकाले वित्रि वितरण गरिँदै आएको छ त्यसै गरी खाद्यान्नलाई पनि व्यवस्थित तरिकाले बिक्री वितरण गर्नका लागि वडा कार्यालयहरूले खाद्यान्नका पसलहरूलाई सिफारिस दिने र सुनसरी उद्योग वाणिज्य सङ्घले समन्वय गरेर मुल्यसुची सहित पसल खोल्न दिईनेछ ।

पसल खोल्दा सामाजिक दुरी कायम अनिवार्यरुपमा गर्नुपर्ने छ भने तरकारीलाई जस्तै मूल्य सुची पनि अनिवार्य राख्नुपर्ने निर्णय भएको धरान उपमहानगरपालिकाका सूचना अधिकृत खगेन्द्र खतिवडाले जानकारी दिएका छन् ।

यसै गरी धरान उपमहानगरपालिकाको वडानं. १४, ६ र २० मा उत्पादन हुने दुग्धजन्य बस्तुको किनबेचमा समेत सहज बनाउने निर्णय भएको छ । आ आफ्नो वडामा मात्रै नभएर धरानभरी बिक्री वितरणका लागि अनुमति दिइने छ ।

खाद्यान्नका पसलहरु खोल्नका लागि सम्बन्धित वडाका वडाध्यक्ष र सुनसरी उद्योग वाणिज्य सङ्घसँग समन्वय अनिवार्य गर्नुपर्ने छ । बिहान खोलिने पसलहरूले वडा कार्यालयलाई जानकारी दिनुका साथै प्रहरी प्रशासनसँग पनि समन्वय गर्नुपर्ने छ । खोलिएका खाद्यान्नका पसलहरूको वडाअध्यक्षहरुले अनुगमन गर्नेछन् ।

बैठकमा सहभागी वडा नं १३ का अध्यक्ष नेत्र काफ्लेका अनुसार उपभोक्ताहरूलाई कृषि बजारसँग समन्वय गरेर सहुलियतमा सब्जी उपलब्ध गराएजस्तै खाद्यान्नका लागि पनि सहजीकरण गर्ने निर्णय भएको बताएका छन् । उनले भने ''जसरी तरकारी सहुलियत दरमा खुवाइदैछ, त्यसरी टोल विकास संस्थामा खोल्न दिने ।" लकडाउन पालना गर्दै, सामाजिक दुरी कायम गर्दै पसल खोल्ने दिने निर्णय भएको हो । पहिले सुनसरी उद्योग वाणिज्य सङ्घबाट खाद्यान्नको मुल्यसुची लिएर वडामा सम्बन्धित व्यापारी आउनुपर्ने र मात्रै सिफारिस वडाबाट दिने वडाध्यक्ष काफ्लेले बताए ।