धरान : धरान–३ भृकुटी पाखामा एक युवाले दुई युवामाथि खुकुरी प्रहार गरेका छन् ।

मङ्गलवार राति साढे ८ बजेतिर विजय तामाङले मोबाइल ज्याकेटी राखेको विषयमा भएको विवादका कारण युवामाथि खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए ।
विजय तामाङले खुकुरीले प्रहार गर्दा सोही स्थानका २५ वर्षीय उत्तम तामाङ र २४ वर्षीय सन्दीप तामाङ सामान्य घाइते बनेका छन् ।

त्यस क्रममा उत्तमको कम्मरको पछाडिको भागमा चोट लागेको छ भने उनलाई विजयपुर हस्पिटलमा उपचारका लागि पठाई उपचारपछि डिस्चार्ज भइसकेका छन् । त्यस्तै सन्दीपको दायाँ छाती र बायाँ कम्मरको भागमा चोट लागेकोले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार पछि डिस्चार्ज गरिसकिएको छ ।

खुकुरी प्रहारमा संलग्न विजयलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढिरहेको डिएसपी न्यौपानेले जानकारी दिएका छन् ।