धरान : कोरोना भाइरस विरुद्धको सङ्घर्षमा ऐक्यबद्धता जनाउने उद्देश्यले २५६४औँ बुद्ध जयन्तीको अवसरमा आज साँझ ७ बजे देशैभर दीप प्रज्वलन गर्न सरकारले आव्हान गरेको छ ।

नेपाल सरकारले विश्व शान्तिका अग्रदूत सिद्धार्थ गौतमको २५६४औँ जन्म जयन्तीका सन्दर्भमा कोरोना महामारीविरुद्धको लडाइँमा अग्र भागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी एवं स्वयंसेवकहरू प्रति उच्च सम्मान स्वरूप, सङ्क्रमितहरूको शीघ्र स्वास्थ्य लाभका लागि, मृत्युवरण गरेकाको शान्तिका लागि आज बेलुकी दीप प्रज्वलन गर्न आव्हान गरेको हो ।

२५६४औँ बुद्ध जयन्तीलाई सरकारले कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणको कामनासहित विश्व शान्तिको कामना गर्दै मनाउने तयारी स्वरूप यस्तो आव्हान गरिएको हो ।

गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्त्वपूर्ण दिनका रूपमा लिने गर्छन् ।

नेपालको लुम्बिनीमा इसा पूर्व ५६३ अर्थात् आजभन्दा २५६३ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोदन र रानी मायादेवीको सुपुत्रका रूपमा जन्मनुभएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए ।