धरान : धरान उपमहानगरपालिकाले स्थापना गरेको फुड बैकमा धरान हङकङ मञ्चले ६ लाख बराबरको खाद्यान्न सामाग्री राहत हस्तान्तरण गरेको छ ।

धरान हङकङ मञ्चका धरान प्रतिनिधि परशुराम राईको टोलीले सो राहत सामाग्री धरान उप महानगरपालिकाका प्रमुख तिलक राईलाई हस्तान्तरण गरेको हो । मजदुरहरूका लागि ५ लाख बराबरको १० हजार ५ सय २६ किलो चामल हस्तान्तरण गरेको छ । यसै गरी लाङ्घाली सामुदायिक वनमा राखिएका सडक मानवहरूका निमित्त भनेर १ लाख बराबरको २ हजार १ सय ५ किलो चामल समेत फुड बैङ्कलाई प्रदान गरेको छ ।

उक्त खाद्यान्न सामाग्री मञ्चले धरान १७ समाज हङकङ, धरान १० समाज हङकङ, धरान ८ समाज हङकङ, जीवन यात्रा समाज हङकङ, धरान युथ एसोसिएसन हङकङ र धरान फुटबल क्लब हङकङको सहयोगमा सङ्कलन गरिएको प्रतिनिधि परशुराम राईले जानकारी दिएका छन् । धरान उपमहानगरपालिकाले स्थापना गरेको फुड बैकमा यो सहयोग बराहा ग्रुप पछि दोस्रो ठुलो सहयोग भएको धरान उपमहानगरपालिकाका मेयर तिलक राईले जानकारी दिए ।