धरान : धरान उपमहानगरपालिकाको-२० सर्दुखोला पारिको कार्कीछाप कालीखोला सामुदायिक बन क्षेत्र अतिक्रमण भएकोमा सब डिभिजन बन कार्यालय तीनकुनेले आज खाली गराएको छ ।

धरान १६ को जोर सखुवा देखि पारी रहेको धरान-२० को कार्कीछाप कालीखोला सामुदायिक वन क्षेत्र अतिक्रमण गरी चार परिवारले ३ बिघा बढी जग्गा अतिक्रमण गरेर घर टहरा, गाई गोठ र घेरा बारा गरेर मकै लगाएका थिए ।

यसरी बन क्षेत्र अतिक्रमण गरेको विषयमा सब डिभिजन बन कार्यालयले १५ दिने सूचना जारी गरेको र जेठ ९ गते १५ दिन पुरा भएकोले आज सब डिभिजन वन कार्यालय धरान, इलाका प्रहरी कार्यालय धरान र सशस्त्र प्रहरी बलको सहयोगमा अतिक्रमित क्षेत्रलाई पूर्णरूपमा खाली गराइएको विष्णुपादुका सब डिभिजन बन कार्यालयका रेन्जर इश्वरी बास्तोलाले बताए ।

रेन्जर बास्तोलाका अनुसार सूचना जारी गरेपछि टहरा र गाई गोठ भत्काए पनि मकै बारी, परालको कुन्यू लगायत त्यसै छाडिएकाले प्रहरी प्रशासनको सहयोगमा आज हटाएर पुरै खाली गराइएको हो ।

केही वर्षदेखि अतिक्रमण गरेर भोगचलन गर्दै आएको पायौँ, त्यसपछि वनले १५ दिने सूचना पनि जारी गरेको थियो, सूचनाअनुसार टहरा भत्काए पनि मकै बारी र संरक्षण गरिएको तरबार नहटाइएकाले आज हटाएको रेन्जर बास्तोलाले बताए ।

Ban-Atikraman-2 Ban-Atikraman-3