पथरी : पथरीशनिश्चरे नगरपालिकाले पशु नस्ल सुधार गर्न कृत्रिम गर्भाधान कार्यक्रम सुरु गरेको छ । नगरपालिकाको नगरसभाले यो अभियानका लागी २ लाख रुपैयाँ विनियोजन गरेसँगै नगरका कृषकलाई कृत्रिम गर्भाधान तर्फ आकर्षित गर्न सुरु गरिएको हो ।

नगरले कृत्रिम गर्भाधान सेवालाई विस्तार गर्न नगर भित्रका प्राविधीकलाईं लिक्विड नाइट्रोजन लगायतका सामाग्री निःशुल्क उपलव्ध गराउन थालेको छ । गाउँमा ब्याडका लागि राँगा, गोरु र बोका पाउन मुस्किल हुन थाले पछि कृत्रिम गर्भाधानप्रति किसान आकर्षित हुन थालेका छन् ।

कृत्रिम गर्भाधानबाट जन्मेका बच्चालाई रोग नलाग्ने, गर्भ नतुहिने, जन्मेको बच्चा मर्ने सम्भावना कम हुने र त्यसबाट जन्मेका पशु बढी दुधालु हुने भएसँगै किसान आकर्षित हुन थालेको पथरीशनिश्चरे पशु सेवा केन्द्रका प्रमुख पर्वत शाह बताउँछन् ।

गाईलाई गाउँमै गोरु लगाउँदा झन्झट र लागत पनि बढी हुने भएकाले गाईमा कृत्रिम गर्भाधान गर्ने गरेको किसानहरू बताउँछन् । नगरका विभिन्न १० जना प्राविधिकले कृत्रिम गर्भाधान गर्दै आएका छन् । १० जना लाई कृत्रिम गर्भाधान का लागी आवश्यक लिक्विड नाइट्रोजन, सिमेन,ग्लोव र सिथ सम्म उपलब्ध गराउँदै आएको शाहले बताए ।

सिमेनको राजस्व लिने र अरू सामाग्री प्राविधिकलाई निःशुल्क उपलब्ध गराउँदै आएको नगरका पशुपन्छी शाखा प्रमुख हेमराज दाहालले जानकारी दिए । दाहालका अनुसार यस वर्ष नगरको पशुपन्छी शाखाले २ लाख ४० हजार लागतमा कृत्रिम गर्भाधानका लागी सामाग्री खरिद गरेर किसानमा कृत्रिम गर्भाधानको सेवा सुरु गरेको हो ।

पहिला प्राविधिकले कृत्रिम गर्भाधान गरेको ५सय देखी ८ सय सम्म लिँदै आएपनि नगरले प्राविधिकलाई सबै सामाग्री दिएपछि २सय ५० रुपैयाँमै सेवा दिँदै आएका दाहालले बताए बताए । नगरले पहिलो पटक दर्ता भएका प्राविधिकलाई लिक्विड नाइट्रोजन र सिमेन भण्डारणका लागी रेफ्रि समेत निःशुल्क दिएको छ । नगरले पनि नाइट्रोजन भण्डारणका लागी कन्टेनर खरिद गरेको छ ।

‘पहिलो वर्ष विभिन्न प्राविधिकलाई ५ वटा रेफ्रि वितरण गरेका छौ ’ दाहालले भने 'आवश्यकता अनुसार अर्का वर्ष थप गर्ने छौ’ । नगरले यो कार्य भाद्र ७ वाट सुरु गरेको हो ।

हाल पथरीशनिश्चरे नगरभित्र मात्रै मासिक २६० भन्दा बढी गाई र भैसिमा कृत्रिम गर्भाधान हुँदै आएको छ । सेवा केन्द्रबाट पहिलो पटक कृत्रिम गर्भाधान सेवा सुरु गरिएको प्रमुख शाहले जानकारी दिए ।

पशु प्रजनन केन्द्र लहाल र विनायक अक्सिजन प्लान्ट विराटनगरबाट मासिक ७० लिटर लिक्विड नाइट्रोजन नगरमा आपूर्ति हुँदै आएको छ । नगरको यो कार्यबाट किसानहरू समेत कृत्रिम गर्भाधान मै आकर्षित हुँदै आएका छन् ।

ब्याड पाल्ने झन्झट नहुने र उन्नत पशु प्रजननमा सहयोग पुग्ने किसानहरूको भनाइ रहेको छ । कृत्रिम गर्भाधानपछि दूध उत्पादनमा समेत वृद्धि हुँदै गएको उनीहरूको भनाइ रहेको छ । आउने वर्ष नगरले कृत्रिम गर्भाधानका लागी बजेट पर्याप्त गर्न सके किसानलाई निःशुल्क कृत्रिम गर्भाधान सेवा दिन सकिने प्रमुख शाह बताउँछन् ।