धरान : सुनसरी जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दिनानुदिन वृद्धि भइरहेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले थप तीन दिन निषेधित क्षेत्रको समय बढाएको छ ।

आज जिल्ला प्रशासनमा कार्यालयमा बसेको सुरक्षा समितिको बैठकले भदौ १७ गते राति १२ बजे सम्म निषेधित क्षेत्रको समय थप गर्ने निर्णय गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेले बताए । बैठकमा सुरक्षा निकायका प्रमुखहरूसँगै जिल्लाका गाउँ तथा नगरपालिका प्रमुखहरू , सुनसरी उद्योग वाणिज्य सङ्घ, इटहरी र इनरुवाका उद्योग वाणिज्य सङ्घका प्रतिनिधिहरू पनि सहभागी थिए । बैठकका सहभागीहरूले मिश्रित प्रतिक्रिया दिएका थिए ।

धेरै जसोले निषेधित क्षेत्र खोल्नु पर्ने भनेका थिए तर आधार प्रस्तुत नगरेकोले निषेधित क्षेत्रको अवधि ३ दिन थप गर्ने निर्णय भएको प्रजिअ पोखरेलले बताए । यसअघि भदौ १४ गतेसम्म निषेधित क्षेत्रको निर्णय गरिएको थियो ।

भदौ १७ देखि के गर्ने भन्ने बारेमा कोरोना सङ्क्रमणको अवस्था हेरेर निषेधित क्षेत्रको समय थप गर्ने की नगर्ने भन्ने बारेमा अर्को निर्णय हुने प्रमुख जिल्ला अधिकारी पोखरेलले कपुरी न्युजलाई बताए ।