पथरी : कोरोना सङ्क्रमितलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसक्दा कोरोना सङ्क्रमितहरूले समाजबाट दुर्व्यवहार खेप्नु परिरहेको छ ।

कोरोना सङ्क्रमण पछि उसलाई कस्तो व्यवहार गर्नुपर्छ र ऊसँग गर्नुपर्ने व्यवहारको बारेमा सरकारले चेतनामूलक अभियान नचलाएको कारण अहिले आएर कोरोना संक्रमित र सङ्क्रमितको परिवारले छिछि र दूरदूर सहनु परिरहेको छ । कोरोना एउटा भाइरस हो । यसको सङ्क्रमण भएर निको भएपछि उन त्यही समाजमा बस्नुपर्छ , उ पनि त्यही समाजको सदस्य हो भनेर समाजले बिर्सिदिँदा कोरोना संक्रमित र उसको परिवार समाजमा दुर्व्यवहार खेप्न बाध्य भईरहेका छन् । यस्तै समाजको दुर्व्यवहारको सिकार बनेको छ  मोरङको पथरीशनिश्चरे-२ का गौरीशङ्कर सिवाकोटीको परिवार ।

गौरी शङ्कर सिवाकोटीको मृत्यु पछि उनका १३ वर्षका छोरा साइमन सिवाकोटी अहिले काजक्रियामा बसेका छन् । बुवा गुमाएको पिडा त छदै छ समाजकै बुद्धिजीवी वर्गले गरेको भेदभावले झन् बाल मस्तिष्कमा पिडा थपिदिएको छ । सिवाकोटीको मृत्यु कोरनाका कारण भएको भन्दै परिवारले लासको समेत आफ्नो धार्मिक परम्परा अनुसार दाह संस्कार गर्न पाएन भने झन् काज क्रिया गर्ने पुरोहितले समेत मृत्यु पछिका कर्म गर्न नमानेपछि थप पिडा थपियो ।

डेङ्गी रोगको लक्षण देखिएपछि सिवाकोटीको उपचार विराटनगरको न्युरो अस्पतालमा हुँदै थियो । गत शनिवार विराटनगरको न्युरो अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गर्दा गर्दै उनको मृत्यु भयो । सुरुवातमा डेङ्गीको लक्षण देखिएपछि एक हप्ता अघि विराटनगरको सो अस्पतालमा उपचारका लागी उनको भर्ना गरिएको थियो । परिवारले मृतकको शव बुझेर विराटनगर वाट करिब ५० किलोमिटर पूर्व कानेपोखरी पुर्याउदा नेपाली सेनाले शव नियन्त्रणमा लिएर शव व्यवस्थापन गर्‍यो । मृतकमा कोरोना पोजेटिभ देखिएको भन्दै नेपाली सेनाले शवको व्यवस्थापन गरेको थियो ।

मृतकको लास आफ्नो धार्मिक परम्परा अनुसार दाहसंस्कार गर्न नपाए पनि काजक्रियाका लागी पुरोहित खोज्दा कोरोना लागेको भन्दै कुनै पनि पुरोहितले काज क्रिया गर्न नै नमानेको मृतकका ज्वाइँ सन्तोष दंगालले बताए । दंगालले भने ‘त्यो वेला झन् तनाव बढ्यो त्यसले झन् पिडा थप्यो’ ।

मृतक सिवाकोटीकी छोरी लिलाका अनुसार बुबाको मृत्यु पछि आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि यति बेला परिवारले नै तिरस्कार खेप्नुपरेको छ । काजक्रिया गर्ने पुरोहित नै घरमा नआएपछि थप पिडा परिवारमा पर्‍यो । सिवाकोटीको घरबाट करिब ३ मिटरको दुरीमा पुरोहित अध्ययन गर्ने गुरुकुल विद्यालय रहेको छ । सोही विद्यालयका शिक्षकहरू समेत सो काजक्रिया गराउन मानेनन् ।

आइतबार वाट सुरु गर्ने भनिएको काजक्रिया नभएपछि समाजका अन्य व्यक्तिले पुरोहितलाई काजक्रिया गराउन आग्रह गरे त्यो प्रयास समेत निरर्थक भएपछि वैदिक महासङ्घको दबाबमा विश्वनाथ गुरुकुल विद्यालयमा छलफल नै भयो । सो छलफल पछि मात्रै ५ जना पुरोहितले सो काज क्रिया गराउन सहमत भए । अहिले काजक्रिया सुरु भएको स्थानीय जगनाथ नेपालले बताए ।

स्थानीय सामाजिक तथा राजनैतिक व्यक्तित्व युवराज बास्कोटाको पहलमा पण्डित खोज्ने लगायतका विषयमा पहल गरेपछि पुरोहितहरू काजक्रिया गराउन सहमत भएका हुन् ।  सिवाकोटीलाई ज्वरो आउन थालेपछि मङ्गलवारे अस्पताल दमकको लाइफलाइन हुँदै भेन्टिलेटरको उपचारका लागी न्युरोमा लगिएको थियो । न्युरोमा सुरुवातमा कोरोना परीक्षण गर्दा नेगेटिभ रिर्पाेट आएको ज्वाइँ दंगालले जानकारी दिए ।

त्यसपछि न्युरो हस्पिटलमा बिरामी राखियो र सम्पूर्ण परीक्षणहरू गरिएको थियो । परीक्षणका रिपोर्टहरू आउने र उपचार गर्ने क्रम चलिरहेको थियो । शुक्रवार एमआरआई, सिटिस् क्यान, कोरोना लगायतका टेस्टहरू गरिएको थियो । शनिवार सम्म पनि रिपोर्ट आएको थिएन तर रिपोर्ट नै नआई हस्पिटलले बिरामीको मृत्यु भइसकेको भनेर घर लैजान भनेको थियो । अगाडी गरिएको सम्पूर्ण परीक्षणमा कोरोना नदेखिएको तर मृत्यु पछि आएको रिपोर्टमा कोरोना देखिनुले हस्पिटलको बदमासी रहेको आफन्तले बताइरहेका छन् ।

कोरोना सङ्क्रमण सबैलाई हुन सक्छ । कोरोना प्रति त्रसित होइन सजग रहनु पर्छ । कोरोना सङ्क्रमितहरू पनि हाम्रै समाजका सदस्यहरू हुन् । उनीहरूलाई भेदभाव होइन माया र सम्मान गरौँ । कोरोना जित्न हौसला प्रदान गरौँ । यदि यसो भयो भने मात्रै कोरोना महामारीलाई जित्न सक्नेछौ । यसबारेमा राज्यले पनि सङ्क्रमितलाई हेर्ने र गर्ने व्यवहारमा परिवर्तन गर्नका लागि जनचेतनामूलक कार्यक्रमहरू समुदाय स्तरमा तुरुन्त गर्न जरुरी भएको छ ।