धरान : मोरङ बुढिगंगा १ स्थितमा बस्ने ४२ वर्षीय कमल प्रसाद तावाहाङको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ ।

हिजो राती सवा ९ बजे बुढिगंगा १ राजमार्ग साइटमा पैदल हिँडिरहेका तावाहाङलाई लु ६१ प २५०२ नम्बरको मोटर साइकलले ठक्कर दिँदा उनी गम्भिर घाइते भएका थिए । घाइते तावाहाङको विराट मेडिकल कलेज टिचिङ अस्पताल गंगाचोकमा उपचारको क्रममा आज बिहानको राती १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

 मृतक तावाहाङ सशस्त्र प्रहरी सहायक निरीक्षक रहेको खुल्न आएको छ । उनी सशस्त्र प्रहरी बल पाँचथरमा कार्यरत रहेको र हाल बिदामा घर आएको थिए । यता ठक्कर दिने मोटरसाइकल नियन्त्रणमा लिईएको छ भने चालक तत्काल फरार रहेकोले उनको खोजी भइरहेको उक्त कार्यालयले जनाएको छ ।