धरान : धरान २० विष्णुपादुका आँपटार बस्तीमा गएको पहिरोको कारण विस्थापित ७ परिवारलाई सोमबार रोटरी क्लब अफ धरान घोपाले दैनिक उपभोग्य सामान प्रदान गरेको छ ।

उनीहरूलाई ५ वटा ग्यास चुल्हा, तिन लिटर जाने २ वटा प्रेसर कुकर, ७ वटा प्लास्टिकको बाल्टी प्रदान गरिएको क्लबका अध्यक्ष तथा उद्योग वाणिज्य सङ्घ सुनसरीका महासचिव राजेश अग्रवालले जानकारी दिए ।

पहिरोबाट विस्थापित ५ परिवारमा ग्यास चुल्हा नभएको र २ परिवारमा कुकर नभएको जानकारी आए पछि त्यसै अनुसार मिलाएर सामान प्रदान गरिएको अग्रवालले बताए । सामान सँगै १४ प्याकेट चिउरा समेत प्रदान गरिएको उनले बताए ।

अग्रवालका अनुसार १४ हजार बराबरको सामान प्रदान गरिएको छ । वितरण कार्यक्रममा नेकपाका जिल्ला नेता प्रकाश राई, धरान २० का अध्यक्ष मणिराम राई, क्लबका सचिव सन्तोष अग्रवाल, सदस्य रोहन आडा, व्यवसायी वसन्त राई लगायतको उपस्थिति रहेको थियो ।