धरान : लोक-लक्ष्मी स्मृति प्रतिष्ठान धरानले आउँदो मङ्सिर महिनासम्म मजदुर, विपन्न समुदाय र असहायहरूलाई निःशुल्क खाना खुवाइरहने भएकाे छ ।

कोरोना भाइरसका कारण मजदुर, विपन्न समुदाय र असहायहरू भोक भोकै नबसुन् भन्ने उद्देश्यले असोज १ गतेबाट लोक-लक्ष्मी स्मृति प्रतिष्ठान धरानले निःशुल्क खाना खुवाउँदै आएको छ ।

धरान-८ स्थित लाङघाली सामुदायिक वनको भवन र धरान-१ छाताचौक स्थित रहेको पुनर्स्थापना गृह केन्द्रमा गरी दैनिक १ सय १५ जनालाई निःशुल्क खाना खुवाउँदै आएको छ ।

 प्रतिष्ठानले निःशुल्क खाना खुवाउने अभियान दुई महिना थप भएको जानकारी दिएको छ । गत भदौ ३१ गते धरान उपमहानगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गर्दै असोज महिना भर निःशुल्क खाना खुवाउने भनिएको थियो ।

अब प्रतिष्ठानले मङ्सिर महिनासम्म दैनिक गुजारा गर्न समस्या भएका मजदुर, विपन्न समुदाय र असहायहरूलाई निःशुल्क खाना खुवाउने भएको छ । 

धरान उपमहानगरपालिकाको संयोजन तथा नेपाल रेडक्रस सोसाइटी सुनसरीको सहभागितामा प्रतिष्ठानले निःशुल्क खाना खुवाउँदै आएको हो ।

धरानका समाजसेवी स्वर्गीय लक्ष्मी प्रसाद श्रेष्ठ र श्रीमती स्वर्गीय लोककुमारी श्रेष्ठको स्मृतिमा लोकलक्ष्मी स्मृति प्रतिष्ठान स्थापना भएको हो । प्रतिष्ठानले धरानमा विशेष गरेर शिक्षा क्षेत्र लगायत विभिन्न सामाजिक कामहरू गर्दै आएको छ ।

Nisulka-Khana-1