पथरी : इलामको दक्षिणी क्षेत्र चुलाचुली-५ फुइकेका धनबहादुर नेम्वाङ जीवनको एउटा सुन्दर सपना बोकेर बिदेसिएका थिए । हरेक वर्ष मावा खोलाको बाढीले उनको घर खेत मात्रै बगाएन उनको सपना नै बगाउने गर्दथ्यो ।

यस्तो पिरोलोमा बस्न विवश उनी अन्ततः जन्म दिने देउता समानका आमा बुबालाई त्यही छोडेर बिदेसिए । उनले विदेशमा कमाएको पैसाले आमा बुबालाई राम्रो घर बनाएर सुखमा राख्ने सपना बोकेर उनी मलेसिया पुगे । विरानो देशमा जाने उनको रहर थिएन । सामान्य पढ लेख गरेका उनी यही केही गर्न खोजे तर अर्काको भनसुनमा मात्रै काम पाइने भएकोले उनी रहरले होइन बाध्यताले बिदेसिने निधो गरे ।

मलेसियामा १० वर्ष भन्दा बढी बिताए । उनले विदेशमा कमाउने सपना सपनामै सीमित रह्यो । सोचे जस्तो कमाई भएन । उनी कार्यरत कम्पनीमा राम्रो कमाई नभए पछि उनी अबैधरुपमा काम गर्न तयार भए । अवैध भएर काम गरी रहेका बेला गएको शुक्रवार बिहान नेम्वाङ कार्यरत कम्पनीमा मेसिन सफा गर्नेक्रममा उनको हात मेसिनमा परेर काटिए । मलेसियाको वंसापुरीमा रहेको पोलिइडिवल तेल कम्पनीमा कार्यरत रहेकै अवस्थामा मेसिनमा परेर देब्रे हात काटिएपछि नेम्वाङ थप चिन्तामा परेका छन् । उनलाई अव कसरी घर फर्किने चिन्ताले उधुमै सताएको छ ।

शुक्रवार बिहान नेम्वाङ्ग कार्यरत कम्पनीमा रहेको पुरानो मेसिन सफाइ गर्ने क्रममा उनको हात मेसिनमा परेको मलेसियामा नै रहेका उनका छिमेकी मिलन लिम्वुले जानकारी दिए ।  

बुवा आमालाई राम्रो घरमा बसाउने र आफै पनि राम्रो घर घडेरी जोडने सपना बोकेका नेम्वाङ अहिले मलेसियाको केलाङ्ग स्थित क्लाङ्ग अस्पतालको शैयामा छटपटाइरहेका छन् । डिसेम्बर ११ उनको जीवनमा कालो दिन बनेर आयो । मेसिन सफा गर्ने क्रममा एक्कासि मेसिन चलेपछि उनको हात मेसिनमा पेलिन पुग्यो । उनी बेहोस भए । रगतको भेल बग्यो । तत्कालै त्यही कम्पनीमा कार्यरत नेपालीले नै उद्धार गरेर क्लाङ्ग अस्पताल त पुर्‍याए ।

नेम्वाङ होसमा आउँदा दाहिने हात त चल्यो तर देब्रे हातले भेउ पाउन नै सकेनन् । कता कता अप्ठ्यारो महसुस भयो । देब्रे हात चलाउन खोज्दा नचले पछि मात्र उनले भेउ पाए अस्पताल आउनु अघि नै उनको हात कम्पनीमै छोडिएको थियो । अस्पताल पुर्‍याए पछि डाक्टरले उनको चुँडिएको हातमा अहिले गह्रौँ व्यान्डेज वाधिदिएको छ ।

अवैधानिक भएकाले नै उनले आफ्नै नाममा उपचार गर्न पाएका छैनन् । एक जना नेपालीले नै उनको परिचय दिएर नेम्वाङको उपचार भइरहेको छ । मलेसियाको सरकारी अस्पतालमा उपचार गराउन त्यस देशको नागरिक बाहेक वैधानिक हैसियतको श्रमिक हुनु पर्ने नियमले नेम्वाङलाई पनि थिचेको छ ।

अस्पतालको शैयामा रहेका उनलाई अहिले कसैले फोन गरेर सोधी खोजी गर्दा पनि भक्कानिन्छन्। मन थाम्न सक्दैनन् र डाँको छोडेर रुन्छन् । अस्पतालमा उपचार भइरहे पनि नेम्वाङ एक्लै छन् । अवैधानिक भएकाले न उनको बिमा छ न कुनै सहयोग आउने आस छ ।

हात गुमाएर अस्पतालमा एक्लै बस्नुको पिडा जति छ त्यो भन्दा बढी उनलाई भविष्यको चिन्ता छ । घरमा ७० वर्ष काटेका आमा बुवा छन् । तिनको पालन पोषण र भरथेग नेम्वाङले नै गर्दै आएका थिए । नेपाल पुगेर आमा बुबालाई कसरी भरथेग गर्ने चिन्ताले उनलाई नराम्रो गरी अहिले सताएको छ । परिवारका माइला छोरा उनका दाजु लामो समय देखी परिवार भन्दा टाढा छन् । कान्छो भाइले पनि आमा बुवा छोडेर दमक तिरै घर जाम गरेका छन् ।

हात गुम्यो अव कसरी परिवार पाल्नु रु नेम्वाङले अस्पतालकै शैयाबाट यसै भन्छन् । राम्रो कमाइ नभए पछि अवैधानिक वनेपछि उनका पिडा झन् धेरै थपिए । मलेसिया जाँदा ऋण तिर्न निक्कै वर्ष लगाए । १८ वर्षकै उमेरमा मलेसिया पुगेका उनले व्योहोरेको हन्डर सुनिसाध्य छैन ।

नेम्वाङको हात काटिएको खबर सुने पछि उनको परिवारमा खुसी नै हराएको छ । उनकी दिदी विमलाले भनिन् ‘हाम्रो परिवारको त खुसी नै लुटियो कमाएर खुवाउने भाइले हात नै गुमायो रे ’हात गुमाएको खबर शुक्रवार दिउसो कसैले सुनाए पछि उनको परिवारमा थप चिन्ता थपिएको हो । अव उपचार कसरी गर्ने भन्ने चिन्ता परिवारका सदस्यमा पनि छ । मलेसियाबाट नेम्वाङलाई सहजै नेपाल फर्काउन सकिए नेपालमा नै थप उपचार गराउने उनका भिनाजु व्यास बहादुर फागोले बताए । उनले भने ‘सालोलाई उद्धार गरेर नेपाल फर्काइदिनुहोस्’ ।

नेम्वाङको सहयोगको याचनाका लागी नेपाली दूतावास मलेसियामा पनि जानकारी गराइएको उनका छिमेकी मिलन लिम्बुले जानकारी दिए । लिम्बुले भने ‘नेम्वाङको सहयोगका लागी केही सहयोग गरिदिनुहोस्’ । उनको उपचारका लागी कति रकम खर्च हुने अहिले सम्म अस्पतालले कुनै जानकारी दिएको छैन । उनी हाल कार्यरत कम्पनीले कति सहयोग गर्छ त्यो पनि थाह नहुँदा थप अन्योल भएको लिम्बुले बताए ।

वैदेशिक रोजगारीमा गएर अवैधानिक भएकाको हकमा दुर्घटना पर्दा बिमा नपाउने र उपचार खर्च जुटाउन पनि हम्मे हम्मे पर्ने गरेको मलेसियामा रहेका श्रमिक अगुवा तिलोचन गौतम बताउँछन् । धनबहादुरलाई नेपाल फर्काउन मनकारी मनहरू र सहयोगी हातहरूको ठुलो आवश्यक छ ।