इटहरी : लागुऔषध कारोबारी र सीमाबाट हुने चोरी निकाशीका सम्बन्धमा आर्थिक लेनदेनको उजुरी परेपछी सुनसरीका एसपी कमल थापाका घुमुवा प्रहरी,चौकीका हवल्दार सहित झापा र मोरङका केही चौकीका इञ्चार्जलाई प्रदेश प्रहरी कार्यालय बिराटनगरले तानेको छ ।

घुमुवा प्रहरी र केही चौकीका इञ्चार्जका सम्बन्धमा उजुरी परेकाले तानिएको प्रदेश प्रहरी कार्यालयले पुष्टी गरेको छ । सिमा क्षेत्रमा चलखेल भएको भन्दै झापा, मोरङ र सुनसरीका ११ जना घुमुवालाई प्रदेश प्रहरी कार्यालय विराटनगरले तानेको हो ।

लागुऔषध कारोबारमा संलग्नलाई आर्थिक चलखेल गरी रकम लिदै छाड्ने, माग गरेजति रकम नदिए मुद्धा चलाउने र भारतसँगको खुल्ला नाकाबाट चोरी तस्करीमा सेटिङ्ग गरी रकम लिने गरेको उजुरी परेपछि सुनसरीका एसपी कमल थापा माथि प्रदेश प्रहरी कार्यालय बिराटनगरले छानबीन गरेको थियो । उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा उजुरी समेत परेको थियो ।

सुनसरीका एसपी कमल थापा घुमुवा सहित ५ जना झापा र मोरङका केही प्रहरीहरु प्रदेश कार्यालय तानिएको विषयमा डिआईजी इश्वरबाबु कार्कीले उजुरी परेकाले तानिएको प्रतिक्रिया दिए ।