धरान : कोशी टप्पु वन्यजन्तु आरक्षमा रहेको रैथाने 'मकुना हात्ती' उन्मत्त भएको कारण आरक्ष बाहिर निस्किएर जनधनको क्षति गर्ने गरेको निष्कर्ष प्राविधिक टोलीले निकालेका छन् ।

मकुना हात्तीले आरक्षबाट बाहिर निस्किएर धनजनको क्षति गर्नुको साथै भर्खरै मात्र कोशी गाउँपालिका ६ का एक जनालाई आक्रमण गरेर मारेपछि हात्ती मार्नुपर्ने माग गरिएको थियो । हात्ती मार्नु भन्दा नियन्त्रण गर्ने भनेर चितवनबाट आएको प्राविधिक टोलीले कोशी टप्पु वन्यजन्तु आरक्षमा बुधवार देखि काम थालेको छ ।

पशु चिकित्सक सहितको तीन सदस्यीय टोलीले कोशी टप्पुमा 'मकुना हात्ती'को निगरानी सुरु गरेको छ । कोशी टप्पु आइपुगेको टोलीमा पशु चिकित्सक डा.अमिर सडौला सहित वन्यजन्तु प्राविधिक तीर्थ लामा र चालक सुरेन्द्र तामाङ रहेका छन् ।

सो टोलीले आरक्षको कार्यालय सँगको समन्वयमा जङ्गली हात्ती 'मकुना' रहेको स्थान पहिचान गरी निगरानी थालेको छ । प्राविधिक टोलीले 'मकुना हात्ती'मा कुनै खालको मनस्थिति नबिग्रिएको र शरीरमा कुनै किसिमको घाउ चोट पनि नभएको पाइएको डा. सडौलाले जानकारी दिए ।

हात्तीमा हार्मोन बढ्नु अर्थात् उन्मत्त भएकोले आरक्ष बाहिर निस्किएर विध्वंस मच्चाउने गरेको उनीहरुले र्निर्क्योल निकालेका छन् । हात्तीले वितण्डा मच्चाउनुको पछाडिका सम्भावित कारणहरू प्राविधिकले यकिन गरेर हार्मोन घटाउनका लागि बन्दुकबाट डार्ट दिइएको छ ।

यसको असर २४ घण्टा नभए ७२ घण्टामा मात्रै देखिने भएकोले यसको असर देखिएर यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने कुरा निश्चित हुन्जेल प्राविधिक टोलीले निगरानी गर्ने डा। सडौलाले बताए ।

मकुना किन कोशी टप्पु वन्यजन्तु आरक्षमै एक दशक बस्यो त ?

हात्ती कहिल्यै पनि एकै ठाउँमा नबस्ने जनवार हो। तर 'मकुना हात्ती' कोशी टप्पु वन्यजन्तु आरक्षमा बस्न थालेको एक दशक पुरा भएको छ ।

भारतको विभिन्न जङ्गलबाट जङ्गली हात्तीको बथान नेपालको पूर्वी भेग बाहुनडागी हुँदै प्रवेश गरेर पश्चिम सम्म पुग्ने गर्दछ । तर यो हात्ती एकै ठाउँ बस्नुको कारण हात्ती फेम्लीयर जनवार हो । कोश टप्पु वन्यजन्तु आरक्षको हात्तीसारमा उसको सन्तान हुनुले गर्दा एक दशक देखि कोश टप्पु नछोडेको प्राविधिक टोलीका डा. अमिर सडौला बताउँछन् ।

उन्मत्त भएकै कारण मकुनाको विध्वंस

मकुना हात्ती कोश टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमै बस्न थाले देखि अहिले सम्म कति जनालाई आक्रमण गरी मृत्युको मुखमा पुर्‍यायो ? आफू भर्खर मात्रै कोशी टप्पु वन्यजन्तु आरक्षमा आएले थाहा नभएको बताउँदै आरक्षका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले भने, २०७४/०७५ यता मात्रै मकुना हात्तीको आक्रमणबाट ८ जनाको मृत्यु भइसकेको छ ।

जङ्गलमा बस्ने हात्ती यसरी बस्तीमा प्रवेश गरेर विध्वंस गर्नुको एउटै कारण उन्मत्त हुनु अर्थात् उसमा हार्मोनको मात्र बढी हुनुले भएको प्राविधिक टोलीले बताएका छन् । हार्मोनलाई नियन्त्रण गरेपछि हात्ती आफै जङ्गलबाट बाहिर निस्किन डराउने प्राविधिकको भनाई छ ।