उदयपुरको बेलका नगरपालिकाले आगामी आर्थिक वर्ष ०७७/०७८ को बजेटका लागि तयारी तीव्र बनाएको छ। अहिले बेलका नगर कार्यपालिकाको बैठक बस्ने, नीतिगत छलफल भइरहेको कार्यपालिका सदस्यहरू बताउँदै आएका छन् ।

नगरप्रमुख दुर्गाकुमार थापाको कार्यकालमा आउने यो अन्तिम बजेट हो। अन्तिम बजेट कस्तो आउने हो भन्ने सर्वत्र चासोको विषय बनेको छ। कोरोना महामारीका कारण सङ्घीय तथा प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएका छन्।

सङ्घीय सरकारले बेलकालाई ३० करोड ७ लाख ४८ हजार ३ सय ६ रुपैयाँ दिएको छ । स्वास्थ्य क्षेत्र लगायत अन्य क्षेत्रमा बजेटले प्राथमिकता पाउने नै छ। तर, त्यसको कार्यान्वयनको पाटो उत्तिकै चुनौतीपूर्ण छ। अब आगामी आर्थिक वर्षको बजेटमा के कस्ता विषयहरू समावेश हुनुपर्छ भन्ने विषयमा चर्चा गरौँ ।

बजेटले समेट्नु पर्ने विषय

निर्वाचन भएको चार वर्षमा समेत बेलका नगरपालिकामा दमकल किन्ने चर्चा समेत भएको छैन । बेलकामा आगोलागिका विभिन्न घटनाहरू हुने गरेको छ, तर आगो नियन्त्रणमा लिन दमकल अन्य नगरपालिकाबाट आउनुपर्ने बाध्यता छ । यस आर्थिक वर्ष दमकल खरिदको लागि बजेट विनियोजन गर्न जरुरी छ ।

बेलकामा बाढीले पनि बेला बखतामा समस्यामा पार्छ। अझ ठुलो नदी सप्तकोसी पनि यहीँ पर्ने भएकाले थप चुनौती छ । नदीले बर्षेनी बेलका क्षेत्रको भूमिहरू कटान गरिरहेको हुन्छ, कटानको विषयमा यो वर्षको बजेटमा समावेश हुन जरुरी छ।

बेलकाको १, २, र ३ वडामा बर्षेनी बाढीले डुबान हुने गरेको छ। त्यस क्षेत्रको विषयमा अहिले सम्म कुनै पनि ठोस कदम चालिएको देखिँदैन । अबको आउने बजेटमा बाढी प्रभावित क्षेत्रहरूलाई व्यवस्थापनको निम्ति बजेट विनियोजन गर्न जरुरी छ।

बेलका ६ मा पर्ने धार्मिक पर्यटनको सम्भावना बोकेको प्रसिद्ध धार्मिक स्थल देउता थानमा अहिले सम्म कुनै बजेटको ब पनि परेको छैन । त्यस्तै अर्को बेलकाको इतिहास बोकेको बेलका जङ्गलको बेलका मन्दिर निर्माणमा खासै चासो दिइएको छैन। अबको बजेटमा त्यस्ता धार्मिक महत्व बोकेको ठाउँहरूलाई विशेष बजेट विनियोजनको व्यवस्था गर्न जरुरी छ।

बेलकाको मुर्दाघाट कोसी नदीको किनारमा दाहसंस्कार गर्न ल्याउँदा पानी पहिरोमा मलामी भिज्नु पर्ने बाध्यता छ। व्यवस्थित मुर्दाघाट समेत छैन । त्यसलाई पूर्णरुपमा बनाउन यो वर्ष बजेट विनियोजन गर्न जरुरी रहेको छ।

बेलकामा हजारौँको सङ्ख्यामा निजी व्यवसायहरू रहेको छ । हजारौँ भएको व्यवसाय मध्ये केही मात्रामा मात्र करको दायरामा आएका छन्। बेलका उद्योग वाणिज्य सङ्घ लगायतको संस्थाहरूको सहकार्यमा करको दायरामा ल्याउन आवश्यक नियम कानुन बनाउनु पर्नेछ।

नियमित रूपमा कर तिर्ने निजी व्यवसायीहरूलाई पुरस्कृत, प्रोत्साहन जस्ता कार्यक्रमहरू यस बेजेटबाट ल्याउन जरुरी रहेको छ ।

स्थानीय मिडियाहरूलाई प्रोत्साहन गर्ने खालको कार्यक्रम ल्याउन जरुरी छ । स्थानीय पत्रकारलाई अगाडि बढाउन तालिम, फेलोसिप, पुरस्कृत जस्ता कार्यक्रम ल्याउन जरुरी देखिएको छ। स्थानीय सरकारले गराउने विभिन्न सीपमूलक तालिमहरूमा पहुँच भएकालाई भन्दा पनि पछाडि परेका वर्ग, समुदाय, क्षेत्रका व्यक्तिहरूलाई लक्षित गरी तालिमको व्यवस्थापन गर्न जरुरी छ ।

नगरबाट हुने अनुगमनलाई अझ सशक्त ढङ्गले लाग्नुपर्ने देखिन्छ। लकडाउनको बेला वा अन्य चाडपर्वको बेला दैनिक उपभोग्य बस्तुको मुल्यबृद्धि, निजी तथा सरकारी स्कुलहरूको नियमित अनुगमनको व्यवस्थालाई पूर्णरुपमा कार्यान्वयन गर्न विशेष व्यवस्था मिलाउन जरुरी छ । लगायतका कुराहरूमा बेलका नगरपालिकाले बजेट बनाउँदा ध्यान दिनु पर्ने अवस्था छ।

पूर्वाधार विकासमा ध्यान दिनुपर्छ : राजनीतिक दल

सत्तारुढ नेकपा एमालेका बेलका नगर अध्यक्ष गणेश बस्नेत विकासलाई प्राथमिकतामा राखेर पिछडिएका वर्गलाई उकास्ने किसिमको बजेट ल्याउनु पर्ने बताउँछन्। यस अघि थालिएका योजनाहरूलाई पनि पुरा गर्नका लागि बजेटको प्राथमिकतामा पर्नु पर्ने अध्यक्ष बस्नेतको सुझाव छ । आफ्नै पार्टी नेतृत्वको सरकार भएकाले यो विषयले प्राथमिकता पाउनेमा उनी ढुक्क देखिन्छन् ।

‘बेलका नगरपालिकाले अगाडि थालेका योजनाहरूलाई प्रारम्भ गर्दै समग्र क्षेत्रको विकाश र पिछडिएका वर्गको हितमा बजेट ल्याउनुपर्छ’ उनी भन्छन्, ‘त्यस्तो बजेट बेलका नगरले ल्याउने भन्ने विश्वास छ ।’
प्रमुख प्रतिपक्ष दल काँग्रेसका नगर सभापति सुशील सेढाई भौतिक पूर्वाधार क्षेत्रमा अलि जोड गर्नु पर्ने बताउँछन् । सडकहरूमा केही सुधार गर्ने पर्ने अवस्थामा रहे र त्यसतर्फ अलि ध्यान दिनु पर्ने सभापति सेढाईको सुझाव छ । उनले नगरको तपेश्वरी खण्डमा सडक पूर्वाधारका लागि आवश्यक बजेट विनियोजन हुनुपर्ने बताए।

नेकपा माओवादीका नगर अध्यक्ष मनोज तामाङ विगतको बजेट जनमुखी हुन नसकेको बताउँछन् । अबको बजेट भने केही उपलब्धिपूर्ण हुनुपर्ने उनको सुझाव छ । ‘बजेट जनमुखी हुनुपर्छ, अघिल्ला वर्षको बजेट हेरियो तर खासै उपलब्धिमूलक देखिएन’ अध्यक्ष तामाङले भने, ‘सवैतिर खुद्रे बजेट छर्ने भन्दा पनि प्रभावकारी काम हुनुपर्‍यो, पूर्वाधार विकासमा अबको बजेट केन्द्रित भएर आउनुपर्‍यो ।’

मजदुरहरूलाई हेर्ने खालको, कोरोना महामरीमा खटिएका व्यक्तिको लागि केही प्याकेजहरू ल्याएर जन वर्गीय खालको बजेट ल्याउनुपर्ने उनको सुझाव छ । सङ्घमा देखिएको सत्तारुढ दलको आन्तरिक किचलोकाको बाछिटा बेलका नगरसम्मै छ ।

एमालेको खनाल–नेपाल समूहले यहाँ पनि समानान्तर गतिविधि गरिरहेको छ । यस समूहका अध्यक्ष धनपति आचार्य चुनावमुखी बजेट नगरले ल्याउन नहुने बताउँछन् । यस अघिका बजेटहरू टालटुले आउने गरेको भन्दै उनले अबको बजेट जनताले समेत अभाष गर्न सक्ने आउनु पर्ने बताए । राप्रपाका नगर अध्यक्ष टिकाराम शर्मा बेरोजगारी अन्त्य गर्न तर्फ बजेटले ध्यान दिनु पर्ने बताउँछन् ।

‘मेयरले गलत नजिर बसाले’

गत चुनावमा बेलका नगरको मेयरका प्रत्याशी अशोक कार्कीले नगर सरकार एकलौटी ढङ्गले अघि बढिरहेको बताए । उनले नगरका मेयर थापाले प्रतिपक्षीहरूसँग बजेटका विषयमा सल्लाह नगरेर गलत नजिर बसालेको आरोप लगाए ।

‘बजेट भनेको कुनै दलका लागि वा कुनै नेताका लागि नभई नगरवासीका लागि आउनु पर्ने बजेट हो, बजेटका विषयमा बेलकामा प्रतिपक्षसँग बजेटको बारेमा सल्लाह गरेर ल्याउँदा राम्रो हुन्छ’ काँग्रेस नेता समेत रहेका कार्कीले भने, ‘तर प्रतिपक्षसँग सल्लाह नै नगर्ने, सुझाव नै ग्रहण नगर्ने नजिर मेयर दुर्गा थापा (स्वस्ती)ले स्थापित गरेका छन् ।’

नेता भट्टराई भन्छन् : पुँजीगत खर्चमा ध्यान दिनुपर्छ

नेकपा माओवादी केन्द्रका नेता रमन भट्टराई बेलका नगरले विकास बजेट (पुँजीगत) समयमा नै खर्च गर्नेतर्फ ध्यान दिनु पर्ने बताउँछन् । बजेट ल्याउँदा कायाृन्वयनको पक्ष पनि हेर्नु पर्ने उनी बताउँछन् ।

पुँजीगत खर्चको अवस्था अहिले पनि दयनीय रहेको छ । पुँजीगत खर्च अत्यन्तै कम गर्ने अनि चालु खर्चमा जोड गर्ने परिपाटी अब तोड्नु पर्ने उनको सुझाव छ । कसरी हुन्छ पुँजीगत खर्च बढाउने र चालु खर्च कम गर्ने तर्फ नगर सरकारले सोच्नु पर्ने उनले बताए ।