झापा : दाताले दिएको खानेकुरा सम्म ओत लगाएर राख्ने घरको अभाव झेलिरहेकी झापाको कमल-५ टुकुरेकी एक जना असहाय तथा विपन्न महिलाको जीवनमा एकाएक खुसी भित्रिएको छ ।

उनको घर र पारिवारिक अवस्थाका विषयमा सञ्चार माध्यमहरूमार्फत खबर बाहिर आएपछि कमल गाउँपालिकाका केही मनकारी युवाहरूको समूहले तीन दिनभित्रै स्थानीय सङ्गीता राईलाई चिटिक्क परेको नयाँ घर बनाइदिएर खुसी भित्र्याइदिए ।

दाताहरूको सहयोगमा प्राप्त खाद्य सामान ( राहत ) समेत ओत लगाउने ठाउँ थिएन, मेरै घरमा लगेर राखिदिन्थे– सङ्गीताका छिमेकी शान्ता चेम्जोङ देवानले भनिन । उनले सङ्गीताको जीवनमा यही घर नै सबैभन्दा खुसीको उपहार बनेको प्रतिक्रिया दिइन ।

यसरी बन्यो चिटिक्क परेको घर
सङ्गीताको घर परिवारको अवस्थाबारे सञ्चार माध्यमहरूमार्फत बाहिर आएपछि केही मनकारी युवाहरूले थाहा पाए ।

उनको अवस्थाबारे जानकारी पाएपछि ४ दिन अघि सङ्गीताको घरमा पुगेका कमल–५ का युवा शैक्षिक तथा सामाजिक व्यक्तित्व एकराज प्याकुरेलले भने– हामी यो ठाउँमा आयौँ । अवस्था साँच्चैनै दयनीय देख्यौँ र अग्रज दाईहरु र साथीभाइका बिचमा सरसल्लाह भयो ।

सङ्गीताको घरका लागि हामीले स्टीमेट निकाल्यौँ । बर्खा लागिसकेको अवस्थामा लामो समय कुर्न सक्ने कुरा भएन तत्कालै हामी एक्सनमा गयौँ । तीन दिनमा यो घर तयार भयो । उनले घर निर्माणको सोच बनाउँदा कतिपयले यसलाई मजाकका रूपमा लिन खोजे पनि तीन/चार दिनभित्रै घर निर्माण सकिँदा भने दङ्ग परेको बताए ।

घर निर्माणको लागि नेपाली काँग्रेसका स्थानीय युवा नेता हुकुमसिंह राईले नेतृत्व लिए । यो काममा सहयोगी बने थरेन्द्रराज पौडेल, राजकुमार न्यौपाने, बुद्धिशेखर बजगाईँ र पवन लुइँटेल ।

उनीहरूको विशेष सहयोग त छदै थियो भौतिक रूपमा निर्माण कार्यका लागि चन्द्र मोक्तान, विपिन खडका, भक्त मगर, यज्ञ बहादुर थापा र दुर्गा अधिकारीले उसै गरी खटिएर सङ्गीताको जीवनको सबैभन्दा खुसीको क्षण ल्याइदिएका हुन ।

यस्तो छ सङ्गीताको कथा व्यथा
काखमा दुई छोरी सपु र विपासा भएपछि तेस्रो सन्तान जन्मिन केही महिना मात्रै बाँकी छँदा एक वर्ष अघि सङ्गीताका पति पुष्प राईको अचानक रतुवा खोलामा डुबेर मृत्यु भयो ।

त्यसको ६ महिना पछि सङ्गीताको काखमा तेस्रो सन्तानका रूपमा कान्छी छोरी एलिना थपिएकी थपिइन तर दुख र बेसहारा जीवन उनका लागि दिनदिनै भारी बनिरहेको थियो ।

आफ्नै अवस्थाबारे केही बोल्न नसक्ने छिन सङ्गीता । छिमेकी शान्ता चेम्जोङ ( देवान) भन्छिन्– सङ्गीताको श्रीमानमा मुर्छा पर्ने बिराम पनि रहेछ । खोला छेउमा गएको बेला डुबेर त्यस्तो घटना हुन गयो । सङ्गीताका पति पुष्पको मृत्युपछिको अवस्थाबारे बेलिबिस्तार लगाउँदै शान्ताले थपिन– सोझा सिधा, गरिबका छोराछोरी बिचरा बाबु मरेपछि झनै बेस्याहार भए ।

सङ्गीताको परिवार त्यहाँ बस्नु अघि नातेदार ( सङ्गीताका काका ससुरा) को घरमा बस्थ्यो । आफ्ना सन्तान पालन पोषणको जिम्मेवारी आफैँ सम्हाल्ने अठोट लिएर पुष्प र सङ्गीताको जोडी काखमा पहिलो सन्तान च्यापेर सुकुम्वासीका रूपमा टुकुरे टोलमा आएको थियो ।

अरूका खेतबारी र घरायसी धन्दा सघाएका भरमा दुई छोरी सहित चार जनाको परिवारको जीविकोपार्जन हुँदै आएको थियो । तर जब सङ्गीताका पति पुष्पको रतुवामा डुबेर मृत्यु भयो । उनीमाथि भगवानले पनि अन्याय गरेको जस्तै भएको थियो ।

छिमेकी शान्ताको बुझाइमा सङ्गीताका लागि जीवनकै सबैभन्दा धेरै खुसी यो घर प्राप्तिले दिएको छ । जे होस मनकारी मनहरूको सहयोगले विपत्तिमा अतालिएको अनि भक्कानिएको सङ्गीताको पिडामा केही मलहम लगाउने काम भएको छ । ती मनकारी मनहरूलाई सबैको सम्मान र उच्च मूल्याङ्कन पक्कै हुनेछ ।

Sangita-hose-1